काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदिन सुझाव दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि उठेको आलोचना र राजीनामाको प्रसङ्गलाई लक्षित गर्दै श्रेष्ठले यस्तो बेला राजीनामा दिनु वा माग्नु पार्टी र देश दुवैको हितमा नहुने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत सभापति थापालाई सम्बोधन गर्दै श्रेष्ठले निर्वाचनको परिणामभन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य कांग्रेसको मुख्य जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
उनले निर्वाचनको नतिजालाई नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तन चाहनाअनुसार पार्टीलाई रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् ।
श्रेष्ठले अब वडा तहदेखि केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै समयसापेक्ष रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
थापाको नेतृत्वको प्रशंसा गर्दै उनले कठिन घडीमा राजीनामाभन्दा एकता आवश्यक रहेको बताएका छन् ।
‘यस अवस्थामा राजीनामा दिनु वा माग्नु पार्टी र देश दुवैका लागि हितकर हुँदैन । बरु सबै कांग्रेसी एकढिक्का भएर नेतृत्वलाई साथ दिनुपर्छ,’ श्रेष्ठले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस