काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा रहेको बताउँदै समयमै गम्भीर आत्मसमीक्षा र सुधार नगरिए आगामी निर्वाचनमा वामपन्थी शक्तिहरूले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता र त्यसपछिको विभाजनबाट पाठ सिक्न ढिला भइसकेको उल्लेख गरेका छन् । उनले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाइमेक्स’ (शिखर) र ‘कोल्याप्स’को पूर्वानुमान गरेको स्मरण गराउँदै अहिलेको अवस्थालाई अन्तिम चेतावनी को रूपमा व्याख्या गरेका छन् ।
बास्कोटाले कम्युनिष्ट पार्टीहरूबीचको एकता सैद्धान्तिक र सांगठनिक भन्दा पनि दुई नेताको व्यक्तिगत सम्बन्धमा मात्र टिकेकाले जनतामा देखिएको अभूतपूर्व उत्साह निराशामा बदलिएको तर्क गरेका छन् । उनले सोभियत संघको विघटनबाट पाठ नसिक्नु र नेपाली माटो सुहाउँदो विचारको साटो चिनियाँ मोडेलको अन्धो नक्कल गर्नुलाई वामपन्थी आन्दोलनको असफलताको मुख्य कारण मानेका छन् ।
उनले लेखेका छन्, “सोभियत संघबाट सिकिएन, चिनियाँ नक्कल सुपरफ्लप भयो। विचार, संगठन र व्यवहार दुई मितको अधीनमा रहे, एकताको आधार बलियो थिएन ।”
हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिको उदय र परम्परागत कम्युनिष्ट किल्लाहरू ढलेको सन्दर्भलाई संकेत गर्दै बास्कोटाले कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त नभए पनि नसच्चिए अर्को पटक सकिने ठोकुवा गरेका छन् ।
सन् २०२५ को जनआन्दोलन र त्यसपछिको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले उल्लेख्य सिट गुमाएको पृष्ठभूमिमा बास्कोटाको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले वामपन्थी दलहरूले आफ्नो कार्यशैली, संगठन र जनतासँगको सम्बन्धलाई मौलिक रूपमा पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस