ललितपुर । ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगन कुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्।
विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन थापा नै एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ ।
जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णतः नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन् ।
यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन रहेका छन् ।
त्यस्तै, महाङ्कालका अध्यक्ष गणेश बहादुर के.सी, गोदावरीकी उप–प्रमुख मुना अधिकारी, महालक्ष्मीकी उप–प्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस