काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को अन्तर्राष्ट्रिय विभागले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक औपचारिक पत्र पठाउँदै बधाई तथा आत्मीय शुभकामना व्यक्त गरेको छ।
उक्त सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने बताएको छ।
पत्रमा सीपीसीले चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि "साझा भविष्यसहितको समुदाय" निर्माण गर्ने संकल्प दोहोर्याइएको छ। साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उनीहरूको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्ने जनाएकाे छ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि रास्वपाले धन्यवाद ज्ञापन गरेकाे छ।



प्रतिक्रिया दिनुहोस