काठमाडौं । प्रधानमन्त्री बालेन शाह र मधेश प्रदेशबाट निर्वाचित सांसदहरूको उपस्थितिमा आयोजित बैठकमा सांसद टेकबहादुर शाक्यले आफ्नो निर्वाचन क्षेत्रका शिक्षा, स्वास्थ्य, विकास निर्माण, बजेट तथा आगामी योजनासम्बन्धी महत्वपूर्ण विषयहरू उठान गरेका छन् ।
बुधबार सिंहदरबारमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
सांसद शाक्यले पर्सा क्षेत्र नं ४ मा शिक्षाको स्तर सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै उक्त क्षेत्र समग्र रूपमा पछाडि परेको हुँदा शिक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।
स्वास्थ्य क्षेत्रबारे बोल्दै उनले पर्याप्त सुविधा भएको अस्पताल अभावमा स्थानीयवासीहरू उपचारका लागि ७०–७५ किलोमिटर टाढा जान बाध्य रहेको बताए । विशेषगरी वर्षायाममा पुल अभावका कारण आवतजावत प्रभावित हुँदा बिरामीहरू समयमै वीरगञ्ज पुग्न नसक्ने समस्या रहेको उनले औंल्याए ।
उनले गाउँ–गाउँमा रहेका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरू पनि व्यवस्थित नभएको र आवश्यक औषधिको अभाव रहेको उल्लेख गरे ।
त्यसैगरी, अन्तर्राष्ट्रिय नाकासँग जोडिने सडक चितवनतर्फ विस्तार गर्ने क्रममा राष्ट्रिय निकुञ्जका कारण अवरोध भइरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गरी भरतपुर तथा चितवनसँग सडक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए ।
सांसद शाक्यले ठोरी गाउँपालिका–१ मा विगत ३५ वर्षदेखि ढेरुखोला पुल, इक्षा नगर पुल, जीराभवनीपुर गाउँपालिकाको सड्डी कोहडीपु पुल, वडा नं १ को बालुवा पुल तथा धोबिनी गाउँपालिकाको घरदौडा–पिपरा पुल निर्माण हुन नसकेको जानकारी गराए ।
पुल अभावका कारण वर्षायाममा विद्यार्थीहरू विद्यालय जान नपाउने र सुत्केरी महिलाहरू समयमै अस्पताल पुग्न नसक्ने अवस्था रहेको उनले बताए ।
उनले सुशासन प्रवर्द्धनसँगै गरिब, दलित, महिला तथा मजदुर वर्गलाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्नुपर्ने र त्यसका आधारमा रोजगारी सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए ।
सांसद शाक्यले पर्सा क्षेत्र नं ४ का जनताबाट प्राप्त समग्र समस्याहरू समेट्दै सम्बन्धित पालिकाहरूको चौतर्फी विकास सुनिश्चित हुने गरी प्रभावकारी ढंगले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस