काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएको देखिएको छ । अदालतका तथ्याङ्कअनुसार देशभर दर्ता हुने सम्बन्धविच्छेदका मुद्दाको संख्या वर्षेनि वृद्धि भइरहेको छ ।
विशेषगरी काठमाडौँ जिल्ला अदालत मा मात्र चालु आर्थिक वर्षको चैत २० गतेसम्म २,९०७ मुद्दा दर्ता भएका छन्, जसमा १,०३९ मुद्दा फर्छ्यौट भइसकेका छन् ।
सर्वोच्च अदालतको प्रतिवेदनअनुसार पछिल्लो आर्थिक वर्षमा देशभर ४२ हजारभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए, जसमा झण्डै ३३ हजार मुद्दा फर्छ्यौट भए पनि करिब ९ हजार बाँकी छन् ।
कानुन व्यवसायीका अनुसार वैदेशिक रोजगारी, आर्थिक समस्या, पारिवारिक असमझदारी, प्रेमविवाह, अन्तरजातीय सम्बन्ध र सामाजिक परिवर्तनले सम्बन्धविच्छेद बढाइरहेको छ ।अधिवक्ताहरूका भनाइमा कतिपय जोडी सामान्य मतभेदमै अलग हुने प्रवृत्ति पनि बढ्दो छ भने कतिपय अवस्थामा अदालत पुगेर मेलमिलाप पनि हुने गरेको छ ।
समाजशास्त्रीहरूका अनुसार सम्बन्धविच्छेद अब “अधिकारको अभ्यास” पनि हो र “सामाजिक परिवर्तनको संकेत” पनि, तर यसको द्रुत वृद्धि भने चिन्ताजनक मानिएको छ ।
यसरी हेर्दा, बढ्दो सम्बन्धविच्छेद कानुनी स्वतन्त्रताको अभ्यास हो कि सामाजिक विकृति भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको सरोकारवालाहरूको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस