काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मुल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा सोमबार काठमाडौंको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए ।
प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरुलाई त्यहाबाट हटाएको हो । प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरुले प्रहरी दमन मुर्दाबाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर लगाएतका नारावाजी गर्दै प्रदर्शन गरेका थिए । राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले आफुहरु समन्वय गरेर नै ज्ञापन पत्र बुझाउन आउदा प्रहरीले हस्तक्षेप गरेको बताए । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको असर सवैतिर देखिएको भन्दै यसप्रति वर्तमान सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
सोडारीले छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति समेत जनाए । युवाहरुले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस