काठमाडौं । नेपाली विद्यार्थी आन्दोलनको केन्द्र मानिने प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुको २६औँ सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।
देशभर विद्यार्थी सङ्गठनहरूको भूमिका र औचित्यमाथि बहस भइरहेका बेला आरआर क्याम्पस कमिटीले नयाँ नेतृत्व चयन गर्दै साङ्गठनिक सक्रियताको सन्देश दिएको छ । सम्मेलनले गोविन्द जङ्ग विष्टको अध्यक्षतामा ३१ सदस्यीय नयाँ क्याम्पस कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
कमिटीको सचिव पदमा ओखलढुङ्गाका विद्यार्थी नेता खम्बध्वज बस्नेत (सुजन) निर्वाचित भएका छन् । नवनिर्वाचित सचिव बस्नेतले विद्यार्थी आन्दोलनलाई समयअनुकूल र रचनात्मक ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “अहिलेको विद्यार्थी आन्दोलनलाई पुरानै ढर्राबाट मात्र अघि बढाउन सम्भव छैन । आजका विद्यार्थीको आवश्यकता, प्राज्ञिक विकास र भविष्यलाई केन्द्रमा राखेर नयाँ योजनासहित अघि बढ्छौँ ।”
नवनिर्वाचित कमिटीका उपाध्यक्षहरूमा दक्ष शाही, पासाङ स्याबो र सुस्मिता खड्का रहेका छन् भने सह–सचिवमा एकेन्द्र खत्री, सुरेश चन्द्र र जेमिना पुन मगर निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी अर्पण धिमिरेले पाएका छन् ।
विद्यार्थी सङ्गठनहरूको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला आरआर क्याम्पसमा सम्पन्न सम्मेलनले विद्यार्थी आन्दोलन अझै सक्रिय र सशक्त रहेको सन्देश दिएको छ ।
प्रतिक्रिया दिनुहोस