काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले संसद पूर्ण रूपमा एक राजनीतिक संस्था भएको र यहाँ हुने सम्पूर्ण बहसहरू राजनीति निर्देशित हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसद लोकतन्त्र बलियो बनाउने र विचार मन्थन गर्ने थलो भएको उल्लेख गरेका हुन् ।
नेता बर्तौलाले राज्यका विभिन्न निकाय र सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूको कामकारबाहीबारे संसदमा प्रश्न उठ्नुलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताएका छन् । सरकारलाई निरन्तर खबरदारी गर्नु प्रतिपक्षको संवैधानिक दायित्व भएको स्मरण गराउँदै उनले प्रतिपक्ष सशक्त भए मात्रै सरकार संसदप्रति जवाफदेही बन्ने दाबी गरे ।
संसदभित्र पछिल्लो समय बढ्दो नियमापत्तितर्फ सङ्केत गर्दै उनले नियमापत्ति मर्यादित र नियमसम्मत हुनुपर्नेमा जोड दिएका छन् । नियमापत्ति संसदलाई अनुशासित, व्यवस्थित र सिर्जनशील बनाउन उपयोगी हुनुपर्छ, यसलाई व्यक्तिगत प्रचारको माध्यम बनाइनु हुँदैन, बर्तौलाले भनेका छन् ।
उनले सभामुखले पनि नियमापत्ति योग्य विषयमा तत्काल र स्पष्ट रुलिङ गर्नुपर्ने धारणा राखेका छन् । संसदको गरिमा जोगाउन र यसलाई प्रभावकारी बनाउन सैद्धान्तिक तथा वैचारिक विमर्श आवश्यक रहेको उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस