काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको छ । सरकारले कार्य विभाजन नियमावली संशोधन गर्दै देशको एकमात्र गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने निर्णय गरेको हो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो । तर त्यसपछि गठन भएको सरकारको निर्णयअनुसार विभाग पुनः गृह मन्त्रालयअन्तर्गत फर्काइएको थियो ।
२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको हो ।
सरकारले १५ चैतमा सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र २०८२’ मा पनि गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न सिफारिस गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजक रहेको समितिले तयार पारेको उक्त मार्गचित्रमा विभागलाई पटक–पटक मन्त्रालय परिवर्तन नगरी प्रधानमन्त्री कार्यालय मातहत राखेर संस्थागत स्थायित्व दिनुपर्ने उल्लेख गरिएको थियो ।
मार्गचित्रमा तीन महिनाभित्र उक्त व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझावसमेत दिइएको थियो । सोही सिफारिसअनुसार अहिले विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस