काठमाडौं । मन्त्री उपस्थित नभए पनि संसदीय विषयगत समितिको बैठक सञ्चालन गर्न सकिने गरी प्रतिनिधिसभा नियमावली संशोधनको तयारी गरिएको छ ।
सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नयाँ मस्यौदा नियमावलीको नियम १७८ को उपनियम ४ मा समितिमा विधेयकमाथि हुने छलफलमा मात्रै मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था प्रस्ताव गरिएको छ । अन्य कार्यसूचीमा भने आवश्यकताअनुसार मात्रै मन्त्री उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
हाल लागू रहेको प्रतिनिधिसभा नियमावली २०७९ अनुसार संसदीय समितिका सबै बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य व्यवस्था छ । यही कारण मन्त्रीको समय नमिल्दा कतिपय समितिका बैठक प्रभावित हुँदै आएका थिए ।
नयाँ व्यवस्थापछि मन्त्री अनुपस्थित भए पनि समितिका नियमित बैठक तथा अन्य विषयमा छलफल अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
रास्वपाका नेताहरूका अनुसार विधेयकमाथिको छलफलमा मात्रै मन्त्री अनिवार्य उपस्थित हुने व्यवस्था गर्दा समितिको कामकारबाही प्रभावकारी र नियमित बन्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस