काठमाडौं । प्रधानन्यायाधीश पदमा सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइको औपचारिक प्रक्रिया सुरु भएको छ । सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकले शर्मामाथि परेका उजुरी र उनको भावी कार्ययोजनाका विषयमा छलफल अगाडि बढाएको हो ।
समितिको बैठकमा आम नागरिक र सरोकारवालाका तर्फबाट प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरीहरूको विवरण र उनले पेस गरेको कार्ययोजनाको प्रतिलिपि सांसद एवं समिति सदस्यहरूलाई वितरण गरिएको छ । समिति सचिवालयका अनुसार शर्माउपर कुल १६ वटा उजुरी दर्ता भएका छन्, जसमध्ये ११ वटा उजुरी इमेलमार्फत र ५ वटा लिखित निवेदनका रूपमा प्राप्त भएका हुन् ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरीहरूमाथि आजै गहन छलफल हुने जानकारी दिएका छन् । समितिको कार्यसूचीअनुसार आजै पहिलो चरणमा उजुरीकर्ताहरूसँग प्रत्यक्ष छलफल गरिनेछ भने सोही बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मालाई आमन्त्रण गरी उनीसँग संसदीय सुनुवाइ (सवाल–जवाफ) गरिने तयारी छ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोज कुमार शर्मालाई न्यायपालिकाको सर्वोच्च पद प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार परिषद्को सिफारिसमाथि संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने र सपथ ग्रहण गर्ने प्रावधान रहेको छ । समितिले आजै सुनुवाइ प्रक्रिया सम्पन्न गरी निर्णय सुनाउन सक्ने सम्भावना रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस