काठमाडौ । निर्वाचन आयोगले नेकपा (एमाले)बाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका आठ जना वडाध्यक्षको पद रिक्त भएको घोषणा गरेको छ ।
निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी सम्बन्धित दलबाट प्राप्त भएपछि कानुनी व्यवस्थाअनुसार उनीहरूको पद स्वतः रिक्त भएको जनाएको छ। पदमुक्त हुनेमा ओखलढुंगाका तीन, मोरङका दुई तथा पाल्पा, ललितपुर र दाङका एक–एक वडाध्यक्ष रहेका छन् । स्थानीय तह सञ्चालन ऐनअनुसार वडाध्यक्षको पद रिक्त भएमा तत्कालका लागि वडाका ज्येष्ठ सदस्य वा तोकिएको प्रतिनिधिमार्फत नियमित प्रशासनिक कामकाज सञ्चालन गर्न सकिने व्यवस्था छ।
कानुनी व्यवस्था, रिक्त अवधिको समय र निर्वाचन आयोगको निर्णयका आधारमा उपनिर्वाचनको प्रक्रिया अघि बढ्न सक्ने भए पनि यसबारे आयोगले हालसम्म कुनै थप निर्णय सार्वजनिक गरेको छैन । एमालेबाट निर्वाचीत भएका वडा अध्यक्षहरु प्रतिनिधि सभा निर्वाचनको समयमा अन्य दलका प्रवेश गरेका थिए । एमाले सचिवालय बैठकले निर्वाचन आयोगमा यो सम्बन्धी जानकारी दिएपछि निर्वाचन आयोगले उनीहरुको पद गएको निर्णय गरेको हो । राजनीतिक दलबाट निर्वाचीत जनप्रतिनिधिहरुले अन्य दलमा गएपछि सम्बन्धीत दलले निर्वाचन आयोगमा जानकारी गराएपछि पदमुक्त हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस