काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सीमा क्षेत्रमा नेपालीहरुलाई दुःख दिएको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुस्तामा नेपाली नागरिकमाथि दबाब र धम्कीपूर्ण व्यवहार भएको भन्दै त्यसबारे स्पष्ट जानकारी दिन रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग आग्रह गरे ।
साम्पाङले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि आफूहरूले लगातार विरोध जनाउँदै आए पनि सरकारले कुनै जवाफ नदिएको गुनासो गरे । उनले सुस्तामा स्थानीय बासिन्दा र एसएसबीबीच भएको भनिएको विवादको भिडियो सार्वजनिक भइसकेको उल्लेख गर्दै नेपालको सुरक्षा संयन्त्र किन मौन बसेको भन्ने प्रश्न उठाए । नेपालमा नेपाली सेना पछि छ,त्यो सेना सीमा क्षेत्रमा जानै नहुने के कसम खाएको रहेछ साम्पङले प्रश्न गरे ।
उनले सार्वभौम संसदका सदस्यहरूलाई यस्ता संवेदनशील विषयमा जानकारी पाउने अधिकार रहेको पनि बताए । संसदमा उनले सुस्ता घटनाको वास्तविक अवस्था सार्वजनिक गर्न तथा सीमा सुरक्षासम्बन्धी सरकारी धारणा स्पष्ट पार्न रक्षामन्त्रीलाई उपस्थित गराउन सभामुखले आवश्यक पहल गर्नुपर्ने धारणा राखे । हाल रक्षा मन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन्द्र शाहाले नै सम्हालेका छन् ।
प्रतिक्रिया दिनुहोस