काठमाडौं / भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने’ भन्ने अभिव्यक्तिलाई लिएर विवाद भइरहेका बेला रास्वपाका सांसद ले त्यसको बचाउ गरेका छन् । भक्तपुर–२ का सासंद राजिव खत्रीले मन्त्री लम्सालको अभिव्यक्तिलाई शाब्दिक अर्थमा नभई काममा ढिलाइ गर्ने र जिम्मेवारी पूरा नगर्ने पक्षविरुद्धको सांकेतिक चेतावनीका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
सांसद खत्रीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ठेकेदारहरू असुरक्षित भएको दाबीलाई प्रश्न गरेका छन्। उनले ‘यदि काम इमानदार ढंगले भइरहेको छ भने किन यति धेरै प्रतिक्रिया आउँछ ?’ भन्ने आशय व्यक्त गर्दै वर्षौँसम्म अधुरै रहेका सडक र पूर्वाधार परियोजनाबाट सर्वसाधारणले भोगेको सास्तीबारे पनि ध्यान दिन आग्रह गरेका छन् ।
सासंद खत्रीदे “कतिपय अवस्थामा शब्दभन्दा पनि त्यसको आशय र टोन बुझ्नुपर्छ” भन्दै मन्त्रीको भनाइको उद्देश्य भौतिक हिंसा नभई कानूनअनुसार कारबाही, कालोसूचीमा राख्ने तथा जिम्मेवार बनाउने रहेको दाबी गरेका छन् ।
खत्रीले विशेषगरी लामो समयदेखि ढिलाइ भएका सडक आयोजनाहरूको उदाहरण दिँदै जनतामा असन्तुष्टि बढेको बताएका छन्। काम नगर्ने ठेकेदार र त्यसलाई संरक्षण गर्ने प्रवृत्तिमाथि कानुनी रूपमा कडाइ गर्नुपर्ने उनको भनाइ छ।
उनले समयमै काम सम्पन्न गर्न, ठेक्का प्रणालीलाई जवाफदेही बनाउन र आवश्यक परे कानूनको कडाभन्दा कडा प्रयोग गर्नुपर्ने धारणा समेत अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस