अख्तियार स्रोतका अनुसार जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य लाई पक्राउ गरिएको हो ।
काठमाडौं / ई–पासपोर्ट (राहदानी) छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।
अख्तियार स्रोतका अनुसार जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य लाई पक्राउ गरिएको हो । उनीहरूविरुद्ध अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्यादसमेत थप गरिएको अख्तियार स्रोतले जनाएको छ ।
यसअघि यही प्रकरणमा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसी पक्राउ परिसकेका छन् । उनीहरूलाई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको थियो ।
अख्तियारले ई–पासपोर्ट छपाइ तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, प्रतिस्पर्धात्मक बोलपत्र र ठेक्का मूल्य निर्धारणसम्बन्धी विषयमा अनियमितता भएको आशंकामा छानबिन गरिरहेको छ ।
के हो ई –पासपोर्ट प्रकरण ?
नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) लागू गर्ने क्रममा राहदानी छपाइको ठेक्का जर्मन कम्पनी मुहलबाउरलाई दिइएको थियो। ठेक्का प्रक्रियामा लागत बढाइएको, प्रतिस्पर्धालाई सीमित गरिएको तथा निर्णय प्रक्रियामा प्रभाव पारिएको हुन सक्ने आशंकामा अख्तियारले लामो समयदेखि अध्ययन गरिरहेको थियो।
यसअघि अख्तियारले राहदानी विभाग र सम्बन्धित निकायबाट ठेक्का फाइल, वित्तीय कागजात तथा निर्णय प्रक्रियासम्बन्धी विवरण संकलन गरेको थियो। त्यसक्रममा तत्कालीन महानिर्देशक अर्याल र निर्देशक केसी पक्राउ परेपछि प्रकरणले नयाँ मोड लिएको थियो। अहिले कम्पनीका नेपाली प्रतिनिधि र विभागका तत्कालीन लेखा अधिकृतसमेत पक्राउ परेपछि अनुसन्धान केवल प्रशासनिक निर्णयमा सीमित नभई आर्थिक कारोबार र ठेक्का व्यवस्थापनतर्फ केन्द्रित भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस