रूपन्देही । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङका एक युवक पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ का २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डरत्रास सिर्जना गर्दै कुटपिट गरेको तथा आपत्तिजनक व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मगरलाई उनको घरबाटै विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाको व्यापक आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस