चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन उद्घाटन हुन अब केही घण्टा मात्र बाँकी रहँदा समारोहस्थलको हिलो र पानी व्यवस्थापन गर्न आयोजकले आपत्कालीन कार्य तीव्र पारेको छ ।
चितवनको गेष्टहाउस चौरमा निर्माण गरिएको मुख्य छानोसहितको ह्याङ्गरभित्र वर्षाको पानी जमेर जलमग्न भएपछि अहिले मोटरबाट पानी निकाल्ने र हिलोमा बालुवा–गिट्टी हाल्ने काम भइरहेको छ ।
होचो भूभाग भएकाले केही बेरको वर्षाले नै मुख्य ह्याङ्गरभित्र गोलीगाँठोसम्म पानी जमेको थियो । स्वयंसेवकहरूले मोटर प्रयोग गरेर पानी बाहिर फालेलगत्तै बाँकी रहेको हिलो र ओसिलो भुइँलाई बस्न योग्य बनाउन ट्याक्टर र ट्रकमा बालुवा तथा गिट्टी ल्याएर चौरमा हाल्ने र सम्याउने काम भइरहेको छ ।
करिब ५ हजार जना अट्ने क्षमता रहेको ७५ मिटर लामो र २० मिटर चौडा उक्त मुख्य ह्याङ्गरभित्र पाहुना र प्रतिनिधिहरू बस्ने कुर्सीहरू राख्नुअघि जमिन सुकाउनु पर्ने चुनौती आयोजकसामु छ । दिउँसो २ बजे उद्घाटन सत्र सुरु हुने तालिका रहेकाले स्वयंसेवक र नेता–कार्यकर्ताहरू युद्धस्तरमा बालुवा र गिट्टी बिछ्याउन खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस