काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य दीपक बोहराले पार्टीको प्रथम महाधिवेशनका प्रतिनिधिहरूसँग केन्द्रीय समिति सदस्यका लागि मत माग्दै संघर्ष, न्याय र संगठनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा बोहराले वैकल्पिक राजनीतिको अभियान सुरु गर्दा धेरैले उपहास र अविश्वास गरेको स्मरण गर्दै कठिन परिस्थितिका बीच पनि पार्टी नेतृत्व र कार्यकर्ताहरू पछि नहटेको बताएका छन्।
उनले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अन्याय भएको दाबी गर्दै त्यसविरुद्ध पार्टीले जनताको अदालतमा पुगेर आवाज उठाएको उल्लेख गरेका छन्। बोहराले आफूले नेतृत्व गरेको ४० लाख हस्ताक्षर संकलन अभियान न्यायको पक्षमा गरिएको अभियान भएको बताएका छन्।
“जहाँ जहाँ घण्टीका उम्मेदवार छन्, त्यहाँ त्यहाँ जिताउने जिम्मा हाम्रो हो,” भन्ने आफ्नो पुरानो प्रतिबद्धता स्मरण गर्दै उनले पार्टीले चुनाव मात्र नभई जनताको मनसमेत जित्न सफल भएको दाबी गरेका छन्।
उनले अबको चुनौती जनताले पार्टीमाथि राखेको विश्वास जोगाउनु रहेको उल्लेख गर्दै नेतृत्वलाई सही बाटोमा हिँडाउन, आवश्यक पर्दा सच्याउन र सही निर्णयमा साथ दिन कार्यकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
महाधिवेशन प्रतिनिधिहरूसँग प्रत्यक्ष अपिल गर्दै बोहराले संघर्षका कठिन दिनहरूमा सँगै उभिएको साथीका रूपमा आफूलाई केन्द्रीय समितिमा पुर्याउन आग्रह गरेका छन्। उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि कार्यकर्ताको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने संकल्पसँग जोडिएको बताएका छन्।
“तपाईंको एक मत केवल दीपक बोहराका लागि होइन, संघर्षलाई सम्मान गर्ने र कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्याउने अभियानका लागि हुनेछ,” उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस