आइतवार , आषाढ ७, २०८३
Shares
Shares
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टीको प्रथम महाधिवेशनमा बोल्दै रास्वपा केवल सरकार फेर्ने अभियान नभई राजनीतिक संस्कार परिवर्तनको अभियान भएको बताएका छन्।
पार्टीको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले रास्वपा नेपाली समाजको परिवर्तनको आकांक्षा र निराशाविरुद्धको लोकतान्त्रिक अभिव्यक्ति भएको बताए। उनले इमानदार, उत्तरदायी र नागरिक केन्द्रित शासन प्रणाली निर्माण गर्दै मेरिटोक्रेसी, उद्यमशीलता र विधिको शासन स्थापित गर्ने लक्ष्य पार्टीले लिएको उल्लेख गरे।
वाग्लेले रास्वपाले आलोचना मात्र नभई विकल्प दिने, विद्रोह मात्र नभई निर्माण गर्ने राजनीतिक शक्ति बन्नुपर्नेमा जोड दिँदै युवालाई अवसर, सक्षम राज्य र समृद्ध नेपालको परिकल्पना प्रस्तुत गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा व्यक्त मन्तव्यको पूर्णपाठ :
आदरणीय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताज्यू, विभिन्न राजनीतिक दलका नेतागण, प्रथम महाधिवेशनका प्रतिनिधि एवं यो ऐतिहासिक क्षणलाई आशाका साथ हेरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू।
आज असार ७ गते, पार्टीको चौथो वार्षिकोत्सव। हामी केवल एउटा दलको महाधिवेशनमा भेला भएका छैनौँ। हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी हो। कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी होइन। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तिब्र आकांक्षा, यसैको राजनीतिक अभिव्यक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी।
जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले,
जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो,
जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो,
त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो, र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हाे राष्ट्रिय स्वतन्त्र पार्टी।
विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याए। संविधान आयो। समावेशिताको आधार तयार भयो। यी उपलब्धिहरूको हामी सम्मान गर्छौं। तर लोकतन्त्रको संस्थागत गुणस्तर भने अपेक्षित रूपमा विकसित हुन सकेन।
निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो।
संविधान बन्यो, संस्थाहरू बलिया भएनन्।
राज्यकाे आकार विस्तार भयो, राज्यको क्षमता बढेन।
अधिकार बढे, तर सार्वजनिक सेवाको गुणस्तर बढेन।
आर्थिक गतिविधिहरुको स्वरूप फेरिए, तर मर्यादित रोजगारीका अवसर फैलन सकेनन्।
यही अन्तरविरोधबाट आजको संकट पैदा भएको हो।
प्रिय साथीहरू,
नेपालको समस्या स्रोतको अभाव मात्र होइन।
नेपालको समस्या सम्भावनाको अभाव पनि होइन।
हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो।
राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो।
व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो।
राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने,
प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने,
अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो।
त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन।
यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो।
हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ।
भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ।
साथीहरू,
हामी आमूल सुधारको राजनीति मार्फत
कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ।
त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ।
आलोचना मात्र होइन, विकल्प दिनुपर्छ।
विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ।
आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं।
हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ।
केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ।
केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्छ।
आजको महाधिवेशनको मूल प्रश्न यही हो - रास्वपाले नेपालको भविष्य कस्तो देख्छ?
हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ, जहाँ निर्वाचनले सरकार बनाओस्, तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्; जहाँ बहुमतले शासन गरोस्, तर अल्पमत पनि सम्मानित रहोस्।
हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्; जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्।
हामी यस्तो समन्यायिक समाज चाहन्छौँ, जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गरोस्।
हामी यस्तो सक्षम राज्य चाहन्छौँ, जसले नागरिकमाथि शासन नगरोस्, नागरिकको सेवा गरोस्; जसले अनावश्यक दुःख नदियोस्, तर आवश्यक पर्दा भरोसायोग्य साथ दिओस्।
हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नहोस्; जहाँ श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाओस्।
यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन, उद्यमीले बिना भय लगानी गरुन, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्।
हामी यस्तो आत्मविश्वासी नेपाल चाहन्छौँ, जसले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा नबसोस्; जसले आफ्ना नागरिकको क्षमता, आफ्ना संस्थाको बल र आफ्ना सपनाको साहसमा भरोसा गर्दै २१औँ शताब्दीको अग्रगामी राष्ट्रका रूपमा आफूलाई स्थापित गरोस्।
साथीहरू,
इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ।
हाम्रो पुस्ताले त्यो अवसर पाएको छ।
अब प्रश्न केवल यति हो- के हामी यो दुर्लभ अवसरकाे उपयोग गरौँला? के हामी नेपाललाई नयाँ दिशा दिने पुस्ताका रूपमा इतिहासमा चिनिन सकौंला?
म विश्वस्त छु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम होइन। यो नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्नेछ।
यो निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ, र बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हो।
आउनुहोस्, निराशालाई आशामा बदलौँ,आक्रोशलाई निर्माणमा बदलौँ, र विद्रोहलाई रूपान्तरणमा बदलौँ।
नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा अगाडि बढौँ।
यो लामो यात्राका प्रारम्भिक पाइला यहीं चितवनबाटै चालौँ।
धन्यवाद।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस