काठमाडौँ । मनसरा होटल प्राइभेट लिमिटेडले धनुषा जिल्लाको गोदार क्षेत्रमा प्रिमियम स्तरको चारतारे होटल बनाउने भएको छ । कम्पनीले धनुषाको गोदारमा ९.२ हेक्टर अर्थात् करिब ४ लाख ९ सय ५० वर्गफिट क्षेत्रफलमा फैलिएको आधुनिक होटल बनाउने भएको हो । होटलमा कुल ६० वटा सुविधासम्पन्न कोठा रहनेछन् । जसमा एक प्रेसिडेन्शियल सुइट, दुई सुइट रुम, ३६ डिलक्स रुम तथा २१ स्ट्यान्डर्ड रुम समावेश हुनेछन् ।
यो होटल निर्माण परियोजनाको कुल अनुमानित लागत १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ रहेको छ । ३९ प्रतिशत स्वपूँजी (इक्विटी) र ६१ प्रतिशत ऋण लिएर होटल निर्माण गरिदैछ । प्रवद्र्धकहरूले हालसम्म १६ करोड रुपैयाँ बराबरको इक्विटी लगानी जुटाइसकेका छन् । मे २०२५ सम्म परियोजनाको वित्तीय तथा भौतिक प्रगति प्रारम्भिक चरणमा रहेको र करिब १६ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएमा होटललाई वि.सं. २०८४ वैशाखदेखि व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
कम्पनीले होटल निर्माण गर्न दीर्घकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । कम्पनीको अध्यक्ष इन्दिरा पन्त हुन् । कम्पनीका अनुसार होटलमा पाहुनाका लागि बहुआयामिक सुविधा उपलब्ध गराइनेछ । अत्याधुनिक रेस्टुरेन्ट, जिम तथा हेल्थ क्लब, स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल तथा विवाह, भोज र अन्य विशेष समारोहका लागि ब्याङ्क्वेट सुविधाको व्यवस्था गरिनेछ ।
मनसरा होटलले विशेषगरी धार्मिक तथा विवाह पर्यटनलाई प्राथमिक लक्ष्य बनाएको छ । धनुषा जिल्ला नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ, जहाँ विश्वप्रसिद्ध जानकी मन्दिर र धनुषधाम जस्ता महत्वपूर्ण धार्मिक स्थल अवस्थित छन् । यस क्षेत्रमा उच्चस्तरीय तथा विलासी होटलको अभाव रहेकाले प्रिमियम आतिथ्य सेवाको बढ्दो माग पूरा गर्न यो होटल महत्वपूर्ण हुने कम्पनीको विश्वास छ ।
नेपाल सरकारले जनकपुरधामलाई ‘वेडिङ टुरिजम हब’ अर्थात् विवाह पर्यटन केन्द्रका रूपमा विकास गर्ने रणनीति अघि बढाइरहेका बेला मनसरा होटलले नेपाल तथा भारतका उच्च आय वर्गका धार्मिक पर्यटक, विवाह समारोहका सहभागी तथा विजनेश क्षेत्रका पाहुनालाई आकर्षित गर्ने लक्ष्य लिएको कम्पनीको बुझाइ छ ।
हालका प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावका बेला मधेश झर्दा जनकपुरलाई वैवाहिक गन्तव्यका रुपमा विकास गरिने बताएका थिए । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका थिए । संघीय सरकारले जनकपुरलाई विशेष प्राथमिकतामा राखेपछि जनकपुरको हस्पिटालीटि क्षेत्रमा आकर्षण बढ्न थालेको जानकारहरुको बुझाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस