म्याग्दी । मालिका गाउँपालिकाले सडक पूर्वाधारको स्तरोन्नतिलाई तीव्रता दिएको छ। गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि वडा कार्यालय र दुर्गम बस्तीहरू जोड्ने सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान तथा कालोपत्र गर्ने काम धमाधम भइरहेको छ।
गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारभित्रको करिब १.४ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको छ। सडक साँघुरो र कच्ची हुँदा वर्षायाममा हिलो तथा हिउँदमा धुलोका कारण स्थानीयवासी र सवारी चालकले सास्ती खेप्दै आएका थिए। सडक कालोपत्र हुने भएपछि स्थानीयवासी पनि सडक फराकिलो बनाउन सक्रिय बनेका छन् ।
गाउँपालिकाका अनुसार दरबाङको माथिल्लो बजार यसअघि नै कालोपत्र भइसकेको छ भने अहिले तल्लो बजारको काम अघि बढाइएको हो । यसका साथै गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय जोड्ने मुख्य सडकहरूलाई स्तरीय बनाउने अभियान पनि जारी छ ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकाभित्रका सबै वडा र बस्तीमा सडक पहुँच विस्तार भइसकेको बताउँदै अब सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने लक्ष्यसहित स्तरोन्नतिको काम भइरहेको जानकारी दिए । उनका अनुसार सडक फराकिलो बनाउने, नाली, ग्याबियन, पर्खाल र ढलान निर्माणलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले विभिन्न सडकलाई एकआपसमा जोडेर चक्रपथसमेत निर्माण गरेको छ । दरबाङ–निस्कोट–रुम–पात्ले–डाँडागाउँ–सोले–सिस्नेरी–देवीस्थान हुँदै दरबाङ फर्कने र दरबाङ–बिम–दिच्याम–दुखुबेँसी–रातोढुङ्गा हुँदै पुनः दरबाङ जोड्ने दुईवटा चक्रपथ सञ्चालनमा आएका छन् ।
चालु आर्थिक वर्षमा दरबाङ–फूलबारी–च्युरीबोट–सिस्नेरी सडक, निस्कोट सडक, रुम–अदिभारा सडक तथा रुम गाउँभित्र सडक ढलानलगायतका योजनाहरू पनि कार्यान्वयन भइरहेका छन् । केही सडक निर्माण सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेका छन् ।
गाउँपालिकाका अनुसार प्रदेश र सङ्घीय सरकारको सहयोगमा सडक स्तरोन्नतिका लागि करोडौँ रुपैयाँका योजना सञ्चालन भइरहेका छन् । स्थानीय तहले यी योजनाले यातायातलाई सहज बनाउनुका साथै पर्यटन, कृषि तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ ।
प्रतिक्रिया दिनुहोस