२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

सहकारी नियमन कडा बन्दै, कोशीमा ९ संस्था खारेजीको सूचीमा

सोमवार , आषाढ १५, २०८३

विराटनगर । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले लामो समयदेखि निष्क्रिय रहेका ९ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । 

यसअघि पटक–पटक अद्यावधिक हुन समय दिँदासमेत विवरण नबुझाएका र स्थलगत अनुगमनका क्रममा समेत सञ्चालनमा नरहेको पाइएपछि कार्यालयले अन्तिमपटक स्पष्टीकरण पेस गर्ने अवसर दिएको हो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सहकारी संस्थाहरूलाई १५ दिनभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको अवधिभित्र चित्तबुझ्दो सफाइ वा प्रमाण पेस नगरेमा प्रदेश सहकारी ऐन, २०७६ (संशोधनसहित) को दफा ७३ बमोजिम ती संस्थाहरूको दर्ता खारेज गरिने जनाएको छ ।

खारेजीको प्रक्रियामा परेका संस्थाहरूमा मोरङको साविक पथरी–१ स्थित मोफसल प्रकाशन सहकारी संस्था लिमिटेड, बेलबारी–११ (साविक डाँगीहाट–५) को कोशली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, साविक मृगौलिया–५ को नवजागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा सुन्दरहरैंचा–११ को युवा कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यसैगरी सुनसरीको दुहबी–२ (साविक सिमरिया–२) स्थित निलकण्ठ कृषि सहकारी संस्था लिमिटेड, दुहबी–४ को आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था लिमिटेड, इटहरी–१९ (साविक हाँसपोसा–६) को जब्दी महिला कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१६ (साविक एकम्बा–२) को आदर्श कृषि सहकारी संस्था लिमिटेड तथा रामधुनी–८ (साविक दुम्राहा–३) स्थित तीनकुने महिला बचत तथा ऋण सहकारी संस्था पनि खारेजीको सूचीमा परेका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सम्बन्धित सहकारीका सञ्चालक, पदाधिकारी तथा सरोकारवालाहरूलाई आवश्यक प्रमाणसहित तोकिएको समयभित्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

कार्यालयका अनुसार यस अभियानको उद्देश्य लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरूलाई कानुनी दायरामा ल्याउनु, सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनु तथा प्रभावकारी नियमन सुनिश्चित गर्नु हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट