काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले सानदार पुनरागमन गर्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। टोरन्टोमा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।
एक गोलले पछि परेको दबाबपूर्ण अवस्थालाई उल्टाउँदै पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डो र वैकल्पिक खेलाडी गोन्कालो रामोसले महत्वपूर्ण गोल गरे । अब क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगलले आफ्नो बलियो छिमेकी टोली स्पेनको सामना गर्नेछ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै क्रोएसियाले अग्रता लिएको थियो । ५३औं मिनेटमा इभान पेरिसिसचले गोल गर्दै क्रोएसियालाई खेलमा अघि बढाए । तर, पोर्चुगलले खेलमा फर्किन धेरै समय लगाएन । ६८औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
यो गोल रोनाल्डोको खेल जीवनकै एउटा ऐतिहासिक क्षण बन्यो, किनकि उनले आफ्नो खेल जीवनमा पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गर्न सफल भएका हुन् ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बढिरहेको थियो । तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका गोन्कालो रामोसले इन्जुरी समयको चौथो मिनेटमा उत्कृष्ट हेडमार्फत गोल गर्दै पोर्चुगललाई सनसनीपूर्ण जित दिलाए ।
रामोसको यही निर्णायक गोलसँगै क्रोएसियाको विश्वकप यात्रा समाप्त भएको छ भने पोर्चुगलले स्पेनसँगको भिडन्त पक्का गरेको छ।
प्रतिक्रिया दिनुहोस