२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन

अनलाइन प्रविधिले सेवा सहज, २८% कर्मचारी कटौतीको प्रस्ताव

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण  गरेकी छन्।

मन्त्रालयका सचिवसहितको टोली लिएर कार्यालय पुग्नुभएका मन्त्री यादवलाई कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कार्यालयमा पछिल्लो समय भएका सुधारबारे जानकारी गराएकी थिइन्।

रजिष्ट्रार श्रेष्ठले सरकारले शासकीय सुधार सम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ अनुसार कार्यालयको सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिएको बताइन्। अब कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने बाध्यता हटेको र घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था गरिएको उनले बताइन्।

उनले कम्पनी दर्तापछि स्थायी लेखा नम्बरप्राप्त गर्न आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने झन्झट पनि हटाइएको जानकारी दिइन्। कम्पनी दर्ता प्रणाली र प्यान प्रणालीलाई एकीकृत गरिएकाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने उनले भनिन्।

रजिष्ट्रार श्रेष्ठले सेवाग्राहीका गुनासा तथा जिज्ञासाको तत्काल सम्बोधनका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित कल सेन्टर सञ्चालनमा ल्याइएको बताइन्। उक्त प्रणालीमार्फत २४सै घण्टा कम्पनी दर्तासम्बन्धी जानकारी तथा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको उनले भनिन्।

अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवाग्राहीले कुनै पनि प्रकारको सास्ती भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिएकी थिइन्। प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक पहल गर्न उनले निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

रजिष्ट्रार श्रेष्ठले डिजिटल प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएसँगै जनशक्ति व्यवस्थापनमा सुधार आवश्यक रहेको बताइन्। हाल उपलब्ध प्रविधिको प्रभावकारी प्रयोगबाट कम कर्मचारीबाट पनि छिटो र प्रभावकारी सेवा दिन सकिने भएकाले २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालयसमक्ष पेस गरिएको उनले जानकारी दिइन्। यसबाट राज्यको प्रशासनिक खर्च उल्लेख्य रूपमा घट्ने विश्वास रहेको पनि उनले बताइन्।

अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीको सहभागिता रहेको थियो। टोलीलाई रजिष्ट्रार श्रेष्ठले कार्यालयका विभिन्न कार्यकक्ष तथा सेवा प्रवाह प्रणालीको अवलोकन गराएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट