२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

रोटरी नेपाल-भुटानको गभर्नरमा  नेपालका कार्कीद्वारा पदभार ग्रहण

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान)को रोटरी वर्ष २०२६/२७ का लागि कुशल संगठक र सफल व्यवसायी रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरका रूपमा पदभार ग्रहण गरेका छन् । राजधानीको होटल याक एण्ड यतीमा आयोजित ‘इन्स्टलेशन’ समारोहका बीच कार्कीले कार्यभार सम्हालेका हुन् ।

रोटरी इन्टरनेशनलका डिरेक्टर (२०२७–२०२९) रोटरियन बासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नेपाल र भुटानका १६५ रोटरी क्लबका ४६० भन्दा बढी रोटरियन तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रम सम्बोधनका क्रममा डिस्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्कीले रोटरीको ‘सेवा नै धर्म’ को मुल मन्त्रका साथ अघि बढ्ने बताए । ‘मेरो नेतृत्वमा यस वर्ष हामी रोटरी क्लबहरूलाई अझ सुदृढ बनाउन, सदस्यता विस्तार गर्न र सेवाका परियोजनाहरूलाई बढी प्रभावकारी र दिगो बनाउन केन्द्रित हुनेछौँ। विशेषगरी युवाहरूलाई रोटरीका विभिन्न माध्यमबाट सशक्त बनाउने र रोटरी फाउन्डेसन मार्फत समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउने हाम्रो मुख्य लक्ष्य रहनेछ ।’ उनले बताए ।

यसका साथै विभिन्न क्लब अध्यक्षहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै गर्दै गभर्नर कार्कीले क्लब अध्यक्षहरू नै रोटरीका मेरुदण्ड भएको बताए । ‘उहाँहरूले नै संस्थाको भिजनलाई काममा बदल्नुहुन्छ र समुदायमा प्रत्यक्ष प्रभाव पार्नुहुन्छ। मलाई विश्वास छ, नवनियुक्त अध्यक्षहरूको नेतृत्वमा यो वर्ष रोटरीले सेवाका नयाँ उचाइहरू चुम्नेछ।’ उनले बताए ।  साथै, प्रमुख अतिथि रोटेरियन बसुदेव गोल्यानले नवनियुक्त डिस्ट्रिक्ट गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्पूर्ण रोटेरियनहरूलाई नयाँ उत्साह, ऊर्जा र साझा उद्देश्यका साथ अघि बढ्न आह्वान गरेका छन् ।


को हुन् नवनियुक्त गभर्नर विष्णु बहादुर कार्की ?

इन्जिनियरिङ पृष्ठभूमि र मार्केटिङमा स्नातकोत्तर गरेका कार्की बहुभाषिक व्यक्तित्व हुन् । उनलाई नेपालीका अतिरिक्त फ्रेन्च, रसियन, अंग्रेजी र हिन्दी भाषामा विशेष दख्खल छ । उनका हजुरबुबा स्व. क्याप्टेन झम्काबहादुर कार्की दोस्रो विश्वयुद्धका योद्धा थिए भने उनका बुबा स्व. शम्भुबहादुर कार्की तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको प्रत्यक्ष रेखदेखमा रहेको ‘पञ्चायत नीति तथा जाँचबुझ समिति’ जस्तो उच्च तहको निकायमा कार्यरत थिए । चार दाजुभाइमध्येका जेठो सन्तान कार्कीका दुई दिदीबहिनी समेत रहेका छन् ।

उनको व्यावसायिक यात्रा उत्तिकै प्रेरणादायी छ । कार्कीको परिवार नै उद्यमशीलता र रोटरी अभियानमा सक्रिय छ । उनकी पत्नी नीरु केसी कार्की एक सफल उद्यमी र रोटेरियन हुन्, जसले ‘अर्को शप’ नामक बुटिक सञ्चालन गर्नुका साथै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा काम गरिरहेकी छिन् । उनीहरूको छोरी विपासना जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्यालयमा कार्यरत छिन् भने छोरा निर्वाण प्रोजेक्ट म्यानेजमेन्टमा एमबीए गर्दै पारिवारिक व्यवसाय ‘बेइजिङ गार्डेन’ सम्हालिरहेका छन् ।

विषेश कुरा कुरा के छ भने, उनका दुवै सन्तान इन्ट¥याक्टरबाट रोट¥याक्टर हुँदै रोटरी अभियानमा आबद्ध भएका हुन् । कार्की स्वयम्को हस्पिटालिटी क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव छ ।  हाल उनी बेइजिङ गार्डेन चाइनिज रेस्टुरेन्ट र अर्को शपको अध्यक्ष हुनुका साथै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको प्रवद्र्धक समेत हुन् । विगतमा उनले दक्षिण एसियाकै ठूलो तयारी पोसाक उद्योगमा ३ हजार कर्मचारीको नेतृत्व गर्दै जनरल म्यानेजरको रूपमा सफल भूमिका निभाएका थिए भने ट्राभल र पर्यटन क्षेत्रमा पनि उनको लामो अनुभव छ ।

व्यावसायिक जीवनका अतिरिक्त कार्की खेलकुद र राज्यको नीति निर्माण तहमा पनि सक्रिय छन् । विगत चार दशकदेखि करातेमा आबद्ध उनी ‘ब्ल्याक बेल्ट’ हुन् । उनले नेपाल सोटोकान कराते संघको अध्यक्ष, नेपाल कराते महासंघको सल्लाहकार र नेपाल सितोरियो कराते संघको संस्थापक कोषाध्यक्षका रूपमा सेवा गरिसकेका छन् । हाल उनी नेपाल आइस स्केटिङ तथा स्की संघको अध्यक्ष छन् । सरकारी क्षेत्रमा उनले नेपाल पर्यटन परिषद्मा पाँच वर्ष कार्यकारी पर्यवेक्षक, राष्ट्रिय खेलकुद परिषद्मा खेलकुद तथा पर्यटन विकास समितिको कार्यकारी सदस्य, अर्थ मन्त्रालय अन्तर्गतको गैर–कर राजस्व कार्यदलको सदस्य र ऊर्जा तथा उद्योग मन्त्रालयमा सल्लाहकारको रूपमा आफ्नो विज्ञता प्रदान गरेका छन् ।

दुई दशकभन्दा लामो समयदेखि रोटरीमा सक्रिय रोटेरियन कार्की रोटरीका ‘मेजर डोनर’ समेत हुन् । सन् २००३–०४ मा रोटरी क्लब अफ नागार्जुनको संस्थापक सदस्य बनेका उनी सन् २००८ मा रोटरी क्लब अफ बानेश्वरको संस्थापक अध्यक्ष बने । उनले दुई वर्ष डिस्ट्रिक्ट रोट¥याक्ट कमिटीको सभापति र दुई वर्ष एसिस्टेन्ट गभर्नरको रूपमा काम गरिसकेका छन् भने धेरै पटक रोटरी इन्टरनेशनलका निर्देशक, ट्रष्टी र आरआईपीआरहरुको एड भएर काम गरेका छन् ।

उनले रोटरी क्लब अफ सांखु र रोटरी क्लब अफ पाटन हेरिटेजको लागि ‘न्यू क्लब एडभाइजर’ को भूमिका निभाउनुका साथै डिष्ट्रिक्टका विभिन्न समितिहरूमा नेतृत्वदायी भूमिका र डिस्ट्रिक्ट ट्रेनिङ कमिटीमा लामो समय सदस्यका रूपमा योगदान दिएका छन्। रोटरी नेतृत्वको यात्रामा उनी जनवरी २०२४ मा डिस्ट्रिक्ट गभर्नर नोमिनी डेजिग्नेट, २०२४–२५ का लागि डिस्ट्रिक्ट गभर्नर नोमिनी र २०२५–२६ का लागि डिस्ट्रिक्ट गभर्नर इलेक्टका रूपमा चुनिएका हुन् ।

समाजसेवाका क्षेत्रमा कार्कीले महत्वपूर्ण र प्रभावकारी आयोजनाहरूको नेतृत्व गरेका छन् । उनले चारवटा ग्लोबल ग्रान्टहरूमा ‘प्राइमरी कन्ट्याक्ट’ भएर काम गरेका छन्, जसमा २०७२ को विनाशकारी भूकम्पपछि सोलुखुम्बुको विकट नुनथलामा १२ कोठे सामुदायिक विद्यालय भवन निर्माण प्रमुख रहेको छ । कोभिड–१९ महामारीको समयमा उनले काठमाडौंको सिनामंगलमा ४ वटा रोटरी क्लब र स्थानीय युवा संगठनहरूको सहयोगमा बेड, अक्सिजन कन्सन्ट्रेटर, औषधि र चिकित्सकसहितको ६० बेडको सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालन गरेका थिए । सहरको ध्वनि प्रदूषण कम गर्न उनले सुरु गरेको ‘नो–हर्न’ अभियान र ‘वाकाथन’ लाई पछि नेपाल सरकारले पनि अपनत्व ग्रहण गरेको थियो ।

रोटरीका विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरू र अमेरिकाको ओर्लान्डोमा आयोजित इन्टरनेशनल एसेम्बलीमा सहभागिता जनाइसकेका कार्कीले अमेरिका, युरोप, एसिया र अस्ट्रेलियाका धेरै देशहरूको भ्रमण गरेका छन्। “जीवन सुन्दर छ“ भन्ने मूल मन्त्रमा विश्वास गर्ने उनी आफ्नो मुस्कान, फोटोग्राफी र नेटवर्किङका माध्यमबाट सबैलाई खुसी राख्न मन पराउँछन् । यस्तो बहुआयामिक व्यक्तित्वले रोटरी डिष्ट्रिक्ट ३२९२ को नेतृत्व गर्दा संस्थाले थप उचाइ लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट