२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

एमाले महासचिव पोखरेलको कटाक्षः ‘चुनावअघि र चुनावपछिको रास्वपाको पपुलिजम छर्लङ्ग भयो’

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वर्तमान सरकारमाथि तिखो प्रहार गरेका छन् । चुनावअघि र चुनावपछिका अभिव्यक्ति एवं नीतिहरूमा गम्भीर विरोधाभास देखिएको भन्दै उनले रास्वपाको राजनीति सस्तो लोकप्रियता (पपुलिजम) मात्रै भएको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले रास्वपाको चुनावी प्रतिबद्धता र अहिलेको सरकारी नीतिको तुलना गर्दै व्यंग्य बान हानेका छन् ।

महासचिव पोखरेलले चुनावका बेला प्रधानमन्त्री बालेन्द्र शाहले ‘गोजीमा पैसा नभएका जनताले पनि पढ्न र स्वास्थ्य उपचार पाउनुपर्छ, यही हाम्रो एजेन्डा हो’ भनी दिएको अभिव्यक्ति स्मरण गराएका छन् । त्यसको विपरित अहिले रास्वपाकै तर्फबाट बनेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘३५ सय रुपैयाँ बिमा शुल्क लिएर १ लाख रुपैयाँको उपचार गराउन सम्भव छैन’ भनी दिएको अभिव्यक्तिलाई उद्धृत गर्दै पोखरेलले प्रश्न उठाएका हुन् ।

वर्तमान सरकारले तल्लो तहका विपन्न नागरिकलाई सहयोग गर्ने नाममा उल्टै शिक्षा र स्वास्थ्य कर लागू गरेको विषयमा समेत पोखरेलले कडा टिप्पणी गरेका छन् ।

रास्वपाले सत्तामा पुग्नुअघि र पुगेपछि लिएका यस्ता फरक–फरक र विरोधाभासी धारणाहरूले उनीहरूको वास्तविक चरित्र उदाङ्गो पारेको पोखरेलको भनाइ छ । उनले फेसबुकमा लेखेका छन्, ‘चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुरा सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रस्ट भयो होला नि ?’

यति मात्र नभई, सरकारका नीति र बजेटलाई लिएर चौतर्फी जनभावनाविपरीतका विषयमा आलोचना र प्रश्न उठिरहँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहले ‘ढुक्क हुनुस्, देश बन्छ’ भन्दै हलुका रूपमा गफ दिइरहेको भन्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको कार्यशैलीमाथि समेत कडा कटाक्ष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट