काठमाडौं । समयमै काम सम्पन्न नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति दिएर आलोचनामा परेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल फेरि अर्को विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका छन्। यसपटक उनले काम नगर्ने प्रदेश सरकारका मन्त्री र स्थानीय तहका मेयरलाई समेत ‘थुन्ने’ चेतावनी दिएका छन्।
तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री लम्सालले जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्न नसके कानुनी कारबाही गरिने बताएका हुन्। उनले काम नगर्ने जोसुकै भए पनि कानुनको दायरामा ल्याइने भन्दै प्रदेश मन्त्री र मेयरलाई समेत कारबाही गर्न पछि नपर्ने चेतावनी दिए।
‘काम नगर्ने, जनतालाई अवहेलना गर्ने मेयरलाई पनि कारबाही गर्छौं। प्रदेशकै मन्त्री भए पनि काम नगरे थुन्छौं,’ मन्त्री लम्सालले कार्यकर्तासँग भने।
भेटका क्रममा रास्वपाका कार्यकर्ताले प्रदेश र स्थानीय सरकार आफूहरूको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका थिए। त्यसको जवाफ दिने क्रममा मन्त्री लम्सालले तीनै तहका सरकारका जनप्रतिनिधि जनताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै कडा अभिव्यक्ति दिएका हुन्।
हाल संघीय सरकारमा रास्वपाको नेतृत्व रहे पनि प्रदेश र स्थानीय तहमा पार्टीको सहभागिता छैन। यही सन्दर्भमा कार्यकर्ताको असन्तुष्टिपछि मन्त्री लम्सालले यस्तो चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्।
यसअघि पनि उनले समयमै काम सम्पन्न नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिने’ चेतावनी दिएका थिए। उक्त अभिव्यक्तिको प्रतिनिधिसभासम्म चर्को विरोध भएको थियो। त्यसको विवाद साम्य नहुँदै आएको पछिल्लो भनाइले मन्त्री लम्साल पुनः राजनीतिक बहसको केन्द्रमा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस