काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनापछि बेपत्ता यात्रुको खोजी तथा उद्धारमा सरकार गम्भीर नभएको भन्दै प्रतिनिधिसभामा सरकार माथि तीव्र आलोचना भएको छ । विपक्षी सांसदहरूले सरकारले कर्णालीलाई निरन्तर उपेक्षा गरेको आरोप लगाउँदै उद्धार कार्य प्रभावकारी बनाउन तत्काल आवश्यक स्रोत–साधन परिचालन गर्न माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दुर्घटनापछि भीरमा अड्किएका यात्रुले जीवन बचाइदिन गुहार माग्दामाग्दै ज्यान गुमाउनुपरेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले उद्धारका लागि हेलिकप्टर नपठाइँदा मन्त्रीहरूको सवारीका लागि भने हेलिकप्टर प्रयोग भएको दाबी गर्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाए ।
‘भीरमा अड्किएर मानिसहरूले जीवनको भीख मागिरहेका थिए, उनीहरूको आवाज नदी किनारसम्म गुञ्जिएको थियो, तर उद्धार आएन, यही बेला आकाशमा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि होइन, मन्त्रीको सवारीका लागि थियो राप्रपा सचेतक शाहीले भने ।
शाहीले उद्धार टोलीसँग आवश्यक साधन र स्रोतको अभाव रहेको उल्लेख गर्दै सरकारले चाहेको भए तत्काल हेलिकप्टर परिचालन गरेर धेरैको ज्यान बचाउन सकिने तर्क गरे। ‘मन्त्रीहरू हेलिकप्टरमा सयर गरिरहेका बेला कर्णालीका नागरिक नदीमा बगिरहेका थिए। एउटा उद्धार हेलिकप्टर पठाउने क्षमता पनि सरकारसँग भएन,’ उनले आरोप लगाए।
उनले कर्णालीका नागरिक राज्यका लागि दोस्रो दर्जाका नागरिक हुन् कि भन्ने प्रश्न उठाउँदै, ‘के कर्णाली नेपालमै पर्छ कि पर्दैन? कर्णालीका नागरिकले बाँच्न पाउने अधिकार छ कि छैन? कि कर्णालीमा जन्मिनु नै अभिशाप हो? ’भन्दै सरकारसँग जवाफ माग गरे। साथै सभामुखमार्फत सरकारलाई रुलिङ गर्न पनि उनले आग्रह गरे।
बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहित अन्य सांसदहरूले पनि कर्णाली बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजी तथा उद्धार कार्यमा सरकारले अपेक्षित सक्रियता नदेखाएको आरोप लगाए। उनीहरूले कर्णाली प्रदेशलाई राज्यले निरन्तर उपेक्षा गर्दै आएको टिप्पणी गर्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक सबै संयन्त्र तत्काल परिचालन गर्न सरकारसँग माग गरे।
प्रतिक्रिया दिनुहोस