काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको प्रयोग वर्षेनी बढ्दो क्रममा छ । नयाँ प्रविधिप्रतिको आकर्षण, पुराना मोबाइल प्रतिस्थापन गर्ने प्रवृत्ति र डिजिटल सेवाको विस्तारसँगै मोबाइलको बजार विस्तार भइरहेको छ । प्रविधिको पहुँच बढेसँगै नेपालमा वार्षिक ७० अर्बको मोबाइल कारोबार हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मात्रै हेर्ने हो भने नेपालमा ४३ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन वैधानिक रूपमा आयात भएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए। मूल्यका आधारमा हेर्दा आयात झण्डै ३५ प्रतिशतले बढेको छ ।
जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएको विभागको तथ्यांक छ । नेपालमा भित्रिने अधिकांश स्मार्टफोन चीनबाट आउने गरेका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा चीनबाट मात्रै ३२ अर्ब ८४ करोड रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन आयात भएका छन् ।
नेपालमा अहिले सामसुङ, साओमी, रियलमी, पोको, भिभो, ओपो, अनर, आइफोनलगायत एक दर्जनभन्दा बढी ब्रान्डका स्मार्टफोन बिक्री हुँदै आएका छन् । बजारमा चिनियाँ ब्रान्डहरूको प्रभुत्व भए पनि प्रिमियम सेग्मेन्टमा एप्पल र सामसुङको माग उच्च रहेको व्यवसायीहरू बताउँछन् ।
मोबाइल आयातसँगै सरकारको राजस्व संकलन पनि उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट मात्रै ८ अर्ब १० करोड ५२ लाख रुपैयाँ राजस्व उठेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ५ अर्ब ९८ करोड रुपैयाँ थियो । तर व्यवसायीहरू वैधानिक आयात बढे पनि बजार अझै पूर्ण रूपमा व्यवस्थित हुन सकेको नसकेको बताउछन् । नेपालमा ठूलो परिणाममा मोबाइल भित्रने गरेपनि सबै वैधानिक च्यानलबाट नआउने गरेको व्यवसायीहरुको भनाइ छ ।
३० अर्बको मोबाइल अझै अवैध रूपमा भित्र्दै
दिपक मल्हाेत्रा, आइएमएस ग्रुप (सामसुङको नेपालका लागि आधिकारिक वितरक) का सञ्चालक
नेपाली मोबाइल बजारमा अवैध मोबाइल भित्रने क्रम कम भएको छैन् । व्यवसायीहरूका अनुसार वैधानिक आयातसँगै वार्षिक करिब ३० अर्ब रुपैयाँ बराबरका मोबाइल अझै पनि अवैध रूपमा नेपाल भित्रिने गरेका छन् । विभिन्न ब्राण्डका ती मोबाइललाई गैरकानुनी नेपाल भित्राइ विक्रि वितरण भएपनि त्यसमाथि नियमन हुन सकेको छैन ।
आइएमएस ग्रुप (सामसुङको नेपालका लागि आधिकारिक वितरक) का सञ्चालक दिपक मल्होत्राका अनुसार नेपाली मोबाइल बजारको वास्तविक आकार करिब ७० अर्ब रुपैयाँको छ । ‘नेपालमा वार्षिक करिब ३० अर्ब रुपैयाँ बराबरको मोबाइल अझै पनि गैरकानुनी रूपमा भित्रिरहेको छ । त्यसबाट राज्यले करिब ७ अर्ब रुपैयाँ राजस्व गुमाइरहेको छ,’ उनले भने ।
उनका अनुसार गैरकानुनी रूपमा मोबाइल भित्रिए पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण गर्न सकेका छैनन् । ‘सरकारले एमडीएमएस लागू गरेर अवैध मोबाइल नियन्त्रण गर्न खोजेको थियो । तर लामो समयदेखि अदालतमा मुद्दा परेकाले कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । त्यसले अवैध कारोबारलाई प्रश्रय दिएको छ भने उपभोक्तासमेत ठगिने अवस्था बनेको छ,’ मल्होत्राले बताए ।
उनका अनुसार नेपालमा सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड सामसुङ हो, जसको मात्रै वार्षिक कारोबार करिब १५ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । भीभो मोबाइल विक्रेता दिपेश खनाल भने पछिल्ला वर्षहरूमा आधिकारिक च्यानलबाट मोबाइल आयात बढ्न थालेको बताउँछन् । ‘पहिले लुकीछिपी मोबाइल ल्याउने क्रम धेरै थियो । अहिले भने स्मार्टफोनको आयात तथ्यांकले वैधानिक च्यानलबाट आउने क्रम बढिरहेको देखाउँछ । ब्रान्डहरूले पनि आधिकारिक आयातकर्ता र वितरकमार्फत नै बजारमा सामान ल्याउन थालेका छन्,’ उनले भने । उनका अनुसार एमडीएमएस पूर्ण रूपमा कार्यान्वयन भए अवैध कारोबार अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिनेछ ।
‘एमडीएमएस प्रभावकारी रूपमा लागू भए अवैध गतिविधि धेरै हदसम्म रोकिन्थ्यो । अहिले उपभोक्ताले पनि आधिकारिक मोबाइल किन्ने विषयमा सचेत हुन थालेका छन्,’ खनालले बताए । उनका अनुसार अहिले नेपालमा बिक्री हुने अधिकांश नयाँ स्मार्टफोनले ४जी र ५जी नेटवर्कलाई समर्थन गर्ने भएकाले बजार पनि क्रमशः नयाँ प्रविधितर्फ रूपान्तरण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस