काठमाडौं । आत्मदाह गर्नुअघि राहदानी विभाग अगाढी गणेश नेपाली र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्वील लक’ लगाएपछि गणेश नेपाली र एक महिला नगर प्रहरीबीच चर्काचर्की भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो।
भिडियोमा गणेश नेपाली आफ्नो मोटरसाइकलमै बसेर नगर प्रहरीसँग प्रश्न गरिरहेका देखिन्छन्। भिडियोमा महिला नगर प्रहरीको अनुहार स्पष्ट देखिँदैन, तर आवाज भने प्रस्ट सुनिन्छ। उनीहरूबीच मोटरसाइकल निषेधित स्थानमा पार्क गरिएको, ह्वील लक लगाइएको र मोबाइल फुटेको विषयमा विवाद भएको सुनिन्छ।
विवादका क्रममा गणेश नेपालीले ‘मेरो मोटरसाइकलमा किन लक लगाउनुभयो?’ भन्दै प्रश्न गर्छन्। त्यसको जवाफमा महिला नगर प्रहरीले ‘नमिल्ने ठाउँमा रोकेपछि लक नलगाए के माला लगाइदिने?’ भन्दै प्रतिप्रश्न गरेको आवाज भिडियोमा सुनिन्छ।
त्यसअघि महिला नगर प्रहरीले गणेशलाई ‘किन भागेर आउनुभयो?’ भन्दै प्रश्न गरेकी छन् भने गणेशले ‘बाइकमै बस्दा पनि लक लगाइन्छ?’ भन्दै आपत्ति जनाएका छन्।
संवादका क्रममा महिला नगर प्रहरीले आफ्नो मोबाइल खसालिएको आरोपसमेत लगाएकी छन्। उनले ‘मेरो मोबाइल झारेर किन भागेर आउनुभयो?’ भनेको सुनिन्छ ।
भिडियोमा सुनिएको दुइ बिचको विवादको संवाद :
महानगर प्रहरीः कहाँ जानुहुन्छ, जानु।
गणेश नेपालीः किन?
महानगर प्रहरीः किन भागेर आउनुभएको?
गणेश नेपालीः कहाँ रोकेको थियो भन्नु न?
महानगर प्रहरीः माथि रोकेको थियो।
गणेश नेपालीः बाइकमा बस्दा पनि लक लगाइन्छ?
महानगर प्रहरीः भनेको नमानेपछि। मिल्दैन भनेँ त। के गर्नुहुन्छ भनेर किन भन्नुभयो?
गणेश नेपालीः म त हिँड्न लागेको...
महानगर प्रहरीः मेरो मोबाइल झारेर किन भागेर आउनुभयो?
गणेश नेपालीः तपाईंले किन लक लगाउनुभयो त?
महानगर प्रहरीः नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाए के माला लगाइदिने?
भिडियो :
प्रतिक्रिया दिनुहोस