काठमाडौं / प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जालमार्फत पटक–पटक ज्यान मार्ने तथा गोली हानेर हत्या गर्ने धम्की आएको बताएका छन्। प्रतिपक्षी दलका प्रमुख सचेतकमाथि नै यस्तो धम्की आएको विषय सार्वजनिक भएपछि संसदको समेत गम्भीर ध्यानाकर्षण भएको छ।
सदनलाई सम्बोधन गर्दै महरले सरकारको विरोध गरेकै कारण आफूलाई निरन्तर ज्यान मार्ने धम्की आउने गरेको बताए। लोकतान्त्रिक व्यवस्थामा सरकारको समर्थन र विरोध दुवै स्वाभाविक भए पनि असहमतिकै आधारमा हत्या गर्ने धम्की आउनु अत्यन्त दुःखद र चिन्ताजनक भएको उनको भनाइ थियो।
‘हामी जनताको अभिमत लिएर संसदमा आएका प्रतिनिधि हौँ। हामी निरपेक्ष भएर सरकारको विरोध गरेका होइनौँ,तर सरकारका समर्थकहरूलाई हाम्रो आलोचना असह्य हुँदो रहेछ, त्यसैले पटक–पटक ज्यान मार्ने धम्की आउने क्रम रोकिएको छैन,’ महरले संसदमा भने।
महरका अनुसार ‘पूर्ण विक्रम क्षेत्री’ नामको सामाजिक सञ्जाल आइडीबाट आफूलाई गोली हानेर मार्ने चेतावनी दिइएको छ। उनले उक्त टिप्पणीको स्क्रिनसट पनि संसदमा सार्वजनिक गरेका छन्। उक्त आइडीबाट आफूलाई प्रत्यक्ष रूपमा गोली हानेर मार्ने चेतावनी दिइएको उनले जानकारी गराए।
यस्तै ‘पराजुली राम’ नामको अर्को सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरसमेत उल्लेख गर्दै महरलाई ज्यान मार्ने धम्की दिएको उनले बताए। आफू सभा वा कार्यक्रममा पुगेको थाहा पाए गोली हानेर मार्ने चेतावनी दिइएको भन्दै महरले त्यससम्बन्धी प्रमाण पनि सदनमा प्रस्तुत गरेका थिए।
जनप्रतिनिधिमाथि सामाजिक सञ्जालमार्फत खुलेआम ज्यान मार्ने धम्की आउन थालेपछि सांसदहरूले समेत यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। संसदभित्रै सार्वजनिक भएको यो विषयले निर्वाचित जनप्रतिनिधिको सुरक्षा र सामाजिक सञ्जालमा बढ्दो घृणा तथा हिंसात्मक अभिव्यक्तिको नियन्त्रणबारे नयाँ बहससमेत सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस