काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना अभियुक्तको सजाय काठमाडौं जिल्ला अदालतले निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि दोषी ठहर भएका अभियुक्तहरूको मंगलबार सजाय तोकेको हो।
अदालतले पूर्वउपप्रधानमन्त्री रायमाझीलाई एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ । उनी ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका थिए।
रायमाझीलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना तोकिएको छ।
सोही कसुरमा थप ६ महिना कैदसमेत निर्धारण गरिए पनि एकीकृत सजायका आधारमा उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना भोग्नुपर्ने भएको हो।
यस्तै, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई एकीकृत रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकिएको छ। उनलाई ठगीमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ।
सोही कसुरमा थप ३ महिना कैद पनि तोकिए पनि एकीकृत सजाय दुई वर्ष कायम गरिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
यो प्रकरणमा मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारी लाई पनि अदालतले समान रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकेको छ। उनीहरूलाई सरकारी लिखत किर्तेमा २ वर्ष कैद र २० हजार जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना सुनाइएको हो।
एकीकृत सजाय भने ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना कायम गरिएको छ। दुवै जना मुद्दाको सुरुवातदेखि नै पुर्पक्षका लागि थुनामा छन्।
अदालतले पूर्वसचिव डा. इन्द्रजित राई लाई पनि एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना निर्धारण गरेको छ। उनलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना तोकिएको छ। सोही कसुरमा थप ६ महिना कैदसमेत निर्धारण गरिएको छ।
यद्यपि, राईको उमेर ७५ वर्ष नाघिसकेकाले कानुनी व्यवस्थाअनुसार उनको ७५ प्रतिशत सजाय छुट हुने अदालतले उल्लेख गरेको छ। यसअनुसार उनले अब २ महिना १३ दिन कैद र जरिबाना भुक्तान गरे पुग्ने छ। उनी हाल पुर्पक्षका लागि थुनामै रहेर ३ वर्ष २ महिना १० दिन बिताइसकेका छन्।
यसैबीच, अदालतले टेकनाथ रिजाल लाई पनि दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना निर्धारण गरेको छ। उनलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको हो।
काठमाडौं जिल्ला अदालतले असार २४ गते सुनाएको फैसलामा यस प्रकरणमा १६ जनालाई दोषी र ७ जनालाई निर्दोष ठहर गरेको थियो। मंगलबार ती दोषीहरूको सजाय निर्धारणसँगै लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण सकिएको छ ।
प्रतिक्रिया दिनुहोस