बुधवार , आषाढ ३१, २०८३
Shares
Shares
विराटनगर । विराटनगरको परिचय केवल एउटा सहरको होइन, नेपालको औद्योगिक इतिहासको पनि हो । यही भूमिबाट देशका ठूला उद्योग जन्मिए, यहींबाट उद्योगपतिहरूको पुस्ता तयार भयो र यही सहरले राष्ट्रिय अर्थतन्त्रलाई दशकौंसम्म गति दियो । तर समयसँगै त्यो औद्योगिक चमक फिक्का बन्दै गयो । कतिपय उद्योग बन्द भए, केही आधा क्षमतामा सीमित भए र उद्योगीहरू लगानीभन्दा जोखिमको हिसाब गर्न बाध्य भए ।
यही परिवेशमा पनि केही व्यवसायिक घरानाले आफ्नो यात्रा रोकेका छैनन् । उनीहरूमध्ये एक हो जाजु समूह । तीन पुस्तादेखि व्यापार, उद्योग र उत्पादनमा एउटा व्यवसायिक परिवार सक्रिय छ । यही परिवारको तेस्रो पुस्ताको नेतृत्व गरिरहेका छन् महेश जाजु, जसले विराटनगरको उद्योगलाई केवल स्थानीय बजारमा सीमित राखेनन्, नेपाली उत्पादनलाई विश्वका करिब ३० देशसम्म पु-याउने प्रयास गरिरहेका छन् ।
महेश जाजुसँग सुनौलो नेपालले गरेको लामो संवादमा यहाँ एउटा उद्योगीको व्यक्तिगत कथा मात्र छैन नेपालको अर्थतन्त्र किन सुस्त छ, उद्योग किन संकटमा छन्, सीमापार तस्करीले कसरी राज्य र उद्योगलाई समान रूपमा कमजोर बनाइरहेको छ र निर्यातलाई कसरी राष्ट्रिय अभियान बनाउन सकिन्छ भन्ने आफ्नो प्रष्ट दृष्टिकोण राखेका छन् ।

सरकार फेरियो, तर बजार अझै पर्खाइमै
नयाँ सरकार बनेसँगै निजी क्षेत्रमा केही आशा पलाएको स्वीकार गर्छन् महेश जाजु । तर उनी उत्साह र परिणामबीचको दूरी बुझ्नुपर्ने बताउँछन् । उनका अनुसार कुनै पनि सरकारले पदभार सम्हालेको केही महिनामै अर्थतन्त्र बदल्न सक्दैन । वर्षौंदेखि थुप्रिएका समस्या, कमजोर नीतिगत संरचना र घट्दो लगानी विश्वासलाई सुधार्न समय लाग्छ । त्यसैले उनी सरकारप्रति निराश छैनन्, तर बजारप्रति चिन्तित अवश्य छन् ।
उनको भनाइमा अहिले उद्योगीको सबैभन्दा ठूलो समस्या मागको अभाव हो । बजारमा कारोबार सुस्त छ, नयाँ लगानी रोकिएको छ, उपभोक्ताको खर्च गर्ने क्षमता घटेको छ र उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।
महेश जाजुका अनुसार यसको एउटा कारण पूँजीको गतिशीलता कमजोर हुनु हो । नेपालमा सेयर बजार र जग्गा कारोबार चलायमान हुँदा व्यापारले गति लिन्छ, तर अहिले यी दुवै क्षेत्रमा देखिएको सुस्तीले समग्र अर्थतन्त्रलाई प्रभाव पारेको छ । जग्गामा बढेको कर, व्यक्तिगत ऋणमा कडाइ र लगानीमैत्री वातावरणको अभावले बजारमा पैसा नघुम्दा त्यसको असर उद्योगमा परेको उनी बताउँछन् ।

बजेट सकारात्मक, तर अपूरो
हालै सरकारले ल्याएको बजेटलाई उनी पूर्ण रूपमा असफल मान्दैनन् । केही सकारात्मक सुधार देखिए पनि उद्योगी समुदायले लामो समयदेखि उठाउँदै आएका मूल विषय भने अझै सम्बोधन हुन नसकेको उनको विश्लेषण छ । विशेष गरी उत्पादनमुखी उद्योगलाई कर तथा वित्तीय सहुलियत, निर्यात प्रवद्र्धन, आयात नीतिको पुनरावलोकन र सीमापार हुने अवैध व्यापार नियन्त्रणमा सरकार अझै निर्णायक हुन नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘उद्योगीले सरकारसँग धेरै माग राख्नु स्वाभाविक हो, किनकि उद्योग चल्यो भने त्यसको प्रत्यक्ष लाभ सरकारलाई नै राजस्व, रोजगारी र उत्पादनका रूपमा प्राप्त हुन्छ ।,’

‘अर्थतन्त्रको सबैभन्दा ठूलो शत्रु तस्करी’
महेश जाजुको कुरामा सबैभन्दा धेरै जोडिएको विषय हो— सीमापार तस्करी । उनका अनुसार मोरङ–सुनसरीका खुला सीमाबाट दैनिक ठूलो परिमाणमा सामान नेपाल भित्रिने गरेको छ । यसले एकातिर राज्यको राजस्व घटाइरहेको छ भने अर्कोतिर वैधानिक रूपमा कर तिरेर व्यापार गर्ने उद्योगीलाई प्रतिस्पर्धामा कमजोर बनाइरहेको छ ।
उनी भन्छन्, ‘सरकारले मुख्य भन्सार नाकामा मात्रै कडाइ गरेर समस्या समाधान हुँदैन । तस्करी हुने अनौपचारिक मार्गहरू पहिचान गरेर सुरक्षा संयन्त्र परिचालन गर्नुपर्ने आवश्यकता छ ।,’
उनको तर्कमा, यदि सीमाबाट हुने अवैध आयात नियन्त्रण गर्न सकियो भने अहिले सञ्चालनमा संघर्ष गरिरहेका धेरै उद्योग फेरि पूर्ण क्षमतामा फर्किन सक्छन् । उत्पादन बढ्नेछ, रोजगारी सिर्जना हुनेछ, विद्युत् खपत बढ्नेछ र राज्यको राजस्वमा समेत उल्लेखनीय सुधार आउनेछ ।
गृहमन्त्रीको सीमा सक्रियता स्वागतयोग्य
पछिल्लो समय गृहमन्त्रीको सीमावर्ती क्षेत्रको अनुगमनलाई महेश जाजुले सकारात्मक रूपमा लिएका छन् । उनका अनुसार अर्थतन्त्र केवल अर्थ मन्त्रालयले मात्र सुधार्ने विषय होइन । सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न गृह प्रशासनको सक्रियता अनिवार्य हुन्छ । यही कारण उनी सीमामा देखिएको सरकारी चासोलाई सही दिशाको सुरुआत मान्छन् । उनका अनुसार अब अनुगमनले मात्र पुग्दैन, परिणाम देखिने गरी तस्करी नियन्त्रण हुनुपर्छ ।

चिनीको उदाहरणले देखाएको नीतिगत कमजोरी
महेश जाजुले चिनी बजारलाई उदाहरण बनाउँदै सरकारी तयारीको कमी औँल्याउँछन् । नेपालको आन्तरिक उत्पादनले पूर्ण माग धान्न नसक्ने अवस्थामा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा मूल्य बढ्न थालेको उनको विश्लेषण छ । दशैं, तिहार र छठजस्ता चाडपर्वअघि सरकारले समयमै भारतसँग आवश्यक परिमाणमा चिनी आयातका लागि कूटनीतिक पहल गर्नुपर्ने उनी सुझाउँछन् । अन्यथा मूल्यवृद्धि, कृत्रिम अभाव र तस्करी तीनै समस्या एकैपटक बढ्ने उनको बुझाइ छ ।
विराटनगरबाट विश्व बजारसम्मको यात्रा महेश जाजुको अर्को परिचय सफल निर्यातकर्ता पनि हो ।
एसियन थाइ फुड्समार्फत नेपाली चाउचाउसहित खाद्य उत्पादन अहिले विश्वका करिब ३० देशमा पुगिरहेको छ । विदेशमा बसोबास गर्ने नेपाली समुदायका कारण नेपाली स्वादको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको उनी बताउँछन् । तर निर्यात सहज छैन । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न ब्रान्डिङ, प्रदर्शनी, बजार विस्तार र वितरण सञ्जालमा ठूलो लगानी आवश्यक पर्छ । यही कारण उनी सरकारले निर्यातमुखी उद्योगलाई थप प्रोत्साहन दिनुपर्ने बताउँछन् ।
‘नेपाल प्याभिलियन’ : एउटा राष्ट्रिय अवधारणा
महेश जाजुको एउटा महत्वपूर्ण प्रस्ताव छ- विश्वका ठूला अन्तर्राष्ट्रिय फुड एक्स्पोमा सरकारले ‘नेपाल प्याभिलियन’ स्थापना गर्नुपर्छ । त्यहाँ एउटै छानामुनि नेपाली चिया, अलैँची, छुर्पी, अम्लिसो, अदुवा, पश्मिना, चाउचाउ, रमलगायतका उत्पादनलाई विश्व बजारमा प्रदर्शन गर्न सकिने उनको विश्वास छ । उनका अनुसार नेपालसँग गुणस्तरीय उत्पादनको कमी छैन, कमी छ त केवल ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थितिको । ‘आजको विश्व उत्पादनले होइन, ब्रान्डले जितिरहेको छ,’ भन्ने उनको निष्कर्ष छ ।

सुनौलो संवादको अन्त्यतिर महेश जाजु फेरि विराटनगरमै फर्किन्छन् । उनी सम्झिन्छन,‘यही सहरले देशलाई प्रधानमन्त्री दियो, अर्थमन्त्री दियो, ठूला उद्योगपति दियो । तर राजनीतिक नेतृत्वले विराटनगरलाई औद्योगिक केन्द्रका रूपमा जोगाउन सकेन ।’
उनका अनुसार आजको विराटनगर निजी क्षेत्रको लगानी, जोखिम र साहसले टिकेको छ । यदि सरकारले उद्योगमैत्री नीति, लगानीको विश्वास र सीमा व्यवस्थापनमा प्रभावकारी काम गर्न सक्यो भने विराटनगरले फेरि औद्योगिक राजधानीको पहिचान फर्काउन सक्ने सम्भावना अझै जीवित छ ।
सीमापार तस्करी नियन्त्रण, उद्योगमैत्री नीति, निर्यात प्रवद्र्धन, विश्व बजारमा नेपाली उत्पादनको ब्रान्डिङ र निजी क्षेत्रसँग सरकारको भरोसापूर्ण साझेदारी । तीन पुस्तादेखि उद्योग सञ्चालन गर्दै आएको अनुभवका आधारमा उनी भन्छन । ‘उद्योगलाई संरक्षण गर्नु भनेको केही उद्योगीलाई जोगाउनु मात्र होइन, रोजगारी, राजस्व, उत्पादन र राष्ट्रिय अर्थतन्त्रको भविष्य सुरक्षित गर्नु हो ।’

Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस