२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

अतिभारी वर्षाको जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

शनिवार , श्रावण २, २०८३

 

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज र भोलि आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशका हिमाली तथा पहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

 

अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ । प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

 

विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ ।

 

प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरोकार भएका निकायलाई आग्रह गरेका छन् ।

 

प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गर्दै विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न आग्रह गरेको छ । साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट