२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

अपडेट : मुग्लिन–नारायणगढ सडकमा बस र ट्रक ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते, उद्धार हुँदै

आइतवार , श्रावण ३, २०८३

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक बस र ट्रक ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस र काठमाडौंबाट दाङतर्फ जाँदै गरेको अर्को बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । दाङतर्फ जाँदै गरेको बसको नम्बर भने खुल्न बाँकी छ । दुर्घटनामा सो बसका चालक गम्भीर घाइते भएका छन् ।

प्रहरीले घाइतेको संख्या २५ भन्दा बढी रहेको जनाएको भए पनि यकिन विवरण आउन बाँकी छ । घाइतेहरूको उद्धार तथा उपचारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

दुर्घटनापछि केही समय अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडक बन्द गरेको थियो । आइतबार बिहान ६ बजे सडक खुलेलगत्तै लेन अनुशासन उल्लंघनका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सडक डिभिजन कार्यालयले चालकहरूलाई सीमित गतिमा सवारी चलाउन, लेन अनुशासन पालना गर्न र विशेष सतर्कता अपनाउन पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार