काठमाडौं । लद्दाखका चर्चित सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनसन अन्त्य गरेका छन् ।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत जानकारी दिँदै उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडेको बताएका हुन् ।
वाङ्चुकका अनुसार विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले पत्र लेखेर अनसन अन्त्य गर्न विशेष आग्रह गरेका थिए ।
सांसदहरूको आग्रह, लामो छलफलपछि कायम भएका केही सर्तहरू तथा देशमा हुन सक्ने सम्भावित हिंसाको जोखिमलाई मध्यनजर गर्दै अनसन फिर्ता लिने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन् ।
सहमति भएका सर्तहरूबारे चाँडै छुट्टै भिडियो सन्देशमार्फत विस्तृत जानकारी गराउने बताउँदै उनले सबै पक्षलाई संयमित रहन र कुनै पनि प्रकारको हिंसा हुन नदिन अपिलसमेत गरेका छन् ।
भारतमा नीट–यूजी परीक्षाको प्रश्नपत्र चुहावट (पेपर लीक) प्रकरणलाई लिएर विद्यार्थीहरू विगत एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा आन्दोलित छन् ।
केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भइरहेको सोही विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउन वाङ्चुक २६ दिनदेखि अनसनमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस