काठमाडौं । नेपालमा जनताले बहुमत दिएर सरकारमा पुगेको राजनीति दल पूरै समय टिकेको इतिहास छैन । एकल बहुमतको सरकारलाई विपक्षीदलबाट भन्दा आफ्नै दलबाट बढी खतरा बन्दै आएको देखिन्छ ।
२०१६ सालमा नेपाली कांग्रेसका नेता विपी कोइरालाको नेतृत्वमा बहुमतको सरकार बनेको थियो । तर, राजा महेन्द्रले कांग्रेस सरकारलाई १८ महिनामै अपदस्त गरेर निर्दलीय पञ्चायती व्यवस्था लादे । त्यतिबेला विपीलाई कमजोर बनाउने काम कांग्रेसभित्रै भएको थियो । राजा महेन्द्रले २०१७ सालमा चालेको कदमको जगमा २०४६ सालमा जनआन्दोलन सफल भयो ।
जनआन्दोलनले सिर्जना गरेको बहुदलीय प्रजातान्त्रिक व्यवस्थापछि राजनीतिक दलले मुन्टो उठाए । तर राजनीतिक दलमा मौलाएको गुटगत प्रवृत्ति र पदीय लोभले पार्टीमा विभाजनको रेखा कोरिने क्रम बढ्न थाल्यो ।
जनआन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस आफ्नै बहुमतको सरकार ढाल्नेदेखि पार्टी फुटाउन समेत अग्रसर देखियो । पार्टीभित्रको आन्तरिक कलह र नेताबीचको जुँगाको लडाइँ त्यसको मुख्य कारण थियो । एमाले फुटबाट अलग रहन सकेन । राजनीति दलमा गुट र विभाजनको क्रम १० वर्षे सशस्त्र युद्ध गरेर आएको माओवादीमा झनै मौलायो ।
२०६२/०६३ सालको १९ दिने जनआन्दोलन र माओवादी सशस्त्र युद्धको बलमा राजतन्त्रको अन्त्य र संविधान सभाको निर्वाचन भयो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बहुमतसहित देशको प्रधानमन्त्री बने । आन्तरिक कलहका कारण प्रचण्ड सत्तामा टिक्न सकेनन् ।
दोस्रो पटक भएको संविधानसभाको निर्वाचनसँगै नेपालमा संघीय गणतान्त्रिक राजनीतिक व्यवस्था स्थापना भयो । नेपालको कम्युनिस्ट इतिहासमा पहिलो पटक एकीकृत माओवादी केन्द्र र एमाले बीचको चुनावी गठबन्धनले दुई तिहाई हाराहारी बहुमत पायो । एमाले अध्यक्ष केपी शर्मा ओली देशको शक्तिशाली प्रधानमन्त्री बने । तर, पार्टीको आन्तरिक द्वन्द्व र नेता बीचको पद लोलुपताले केपीलाई पूरा समय सत्तामा टिकाएन ।
राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसी नेपालका नेतामा राजनीतिक संस्कार नहुँदा यस्तो परिणाम आएको बताउँछन् । ‘नेताबीचको आन्तरिक इर्ष्याले पार्टीलाई मात्र होइन, राजनीतिक व्यवस्थालाई नै कमजोर बनाएको छ । आफ्नै पार्टीको नेतामाथि पुग्दा त्यसलाई स्वीकार गर्नुको साटो खुट्टा तान्ने प्रवृत्ति छ’, केसी भन्छन्, ‘केपी ओलीको सत्ता ढल्नासाथ झलनाथ खनालले ५० प्रतिशत हाइसन्चो भयो भन्नु त्यसैको उपज हो ।’
नेता बीचको आपसी झगडाले ओलीले दुई दुई पटक संसद भंग गरे । सर्वोच्च अदालतले गठबन्धन एमाले र माओवादीलाई फरक–फरक पार्टीको अस्तित्वमा राखिदियो ।
पहिलो पटक सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि दोस्रो पटक पुनः संसद भंग गरेका ओलीलाई आफ्नै पार्टीका संसद र नेताले विश्वासको मत दिएनन् । ओलीमा तानाशाही प्रवृत्ति मौलाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल ओलीविरुद्ध खरो उत्रिए । नेपाल सहितका संसदले विपक्षी नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत नै दिए ।
देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पु-याउने मुख्य भूमिका माधव नेपालको रह्यो । नेपालले एमाले पार्टीनै विभाजन गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) स्थापना गरेका छन् । जसपाको पनि हालत उही छ । गणतन्त्रमा समेत दलहरु फुटको घेराबाट बाहिर निस्कन सकिरहेका छैनन् ।
राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसी नेपालका नेतामा राजनीतिक संस्कार नहुँदा यस्तो परिणाम आएको बताउँछन् । ‘नेताबीचको आन्तरिक इर्ष्याले पार्टीलाई मात्र होइन, राजनीतिक व्यवस्थालाई नै कमजोर बनाएको छ । आफ्नै पार्टीको नेतामाथि पुग्दा त्यसलाई स्वीकार गर्नुको साटो खुट्टा तान्ने प्रवृत्ति छ’, केसी भन्छन्, ‘केपी ओलीको सत्ता ढल्नासाथ झलनाथ खनालले ५० प्रतिशत हाइसन्चो भयो भन्नु त्यसैको उपज हो ।’
केसीका अनुसार नेतामा राजनीतिक संस्कार हराएकोले देशको विकासमा समेत बाधा पुगेको छ । ‘बहुमत सहितको पार्टी फुट्यो भने साना पार्टीले खेल्ने मौका पाउँछन् । अहिले मधेसवादी दलले गृहमन्त्रालय ताकिरहेको अवस्था छ । यो सब राजनीतिक अस्थिरताले भएको हो’, डा. केसी थप्छन्, ‘नेपालमा पार्टी र सरकारको नेतृत्व गर्ने दललाई बाहिरबाट भन्दा आफ्नै पार्टी भित्रबाट बढी खतरा छ ।’
केसीले नेपालमा स्वार्थकै लागि गठबन्धनको सरकार टिक्ने र एक पार्टीको नेताले अर्को पार्टीको नेतालाई सहयोग गर्ने प्रवृति मौलाउँदै आएको पनि बताए । ‘कांग्रेस सभापति देउवालाई अहिले सरकारको नेतृत्व गर्न सजिलो भएको छ । यदि आफ्नै पार्टीको बलमा सरकारमा पुगेका भए, देउवालाई तत्काल मन्त्रिमण्डल विस्तारदेखि सरकार चलाउने काममा भाँजो हालिसकेका हुन्थे । पाँच दलको गठबन्धनमा सरकारको नेतृत्व गरेका देउवालाई डेढ महिनासम्म मन्त्रिमण्डल विस्तार नगरे पनि खासै दबाब छैन । कम्युनिस्टहरु हानाहान गरे, देउवालाई चिठ्ठा प-यो,’ केसी भन्छन् ।
बरु आफ्नै पार्टी कांग्रेस देउवाको क्रियाकलापबाट असन्तुष्ट छ । तर पार्टीबाहिर देउवाको विरोध गर्ने हिम्मत भइरहेको छैन । पाँचौं पटक देशको प्रधानमन्त्री बनेका देउवालाई यसअघिको भन्दा अहिले गठबन्धन दलको सर्मथनमा प्रधानमन्त्री बन्दा बढी हाइसन्चो छ ।
माओवादी सशस्त्रद्वन्द्वमा सक्रिय रुपमा लागेकी इन्दिरा सञ्जेल नेपालमा वैचारिक र सामूहिक विषयले भन्दा व्यक्तिको ‘इगो’ ले पार्टी फुट्ने र सत्तानै गुम्ने गरेको बताउँछिन् । ‘नेतामा सकभर आफैँ खाउँ भन्ने भावना मौलायो । बहुमत ल्याएर भन्दा गठबन्धनको नेतृत्व गर्दा टिक्न सजिलो देखियो । आफ्नै पार्टीको एक नेताले अर्को नेतालाई नेतृत्वमा रहेको देख्न नचाहँदा व्यवस्थानै धरापमा पर्ने खतरा छ,’ सञ्जेल भन्छिन् । सञ्जेल हाल नेकपा एमाले अन्तर्गत अखिल नेपाल महिला संघ कर्णाली प्रदेशकी सचिव हुन् । उनी एमाले र माओवादी केन्द्र अलग भएपछि नेता रामबहादुर थापा ‘बादल’ सँगै एमालेमा बसेकी छन् ।
प्रतिनिधिसभा सभासद् विमला बिक पनि पदीय भागबण्डाका कारण एमाले पार्टीमा फुट आएको बताउँछिन् । ‘नेताहरुले आपसमा इष्र्या पाल्नुभो । आफ्नो जिम्मेवारीलाई बिर्सिएपछि पार्टी नै धरापमा पार्ने काम भयो । एमाले फुट्नुको मुख्य कारण सैद्धान्तिक भन्दा शीर्ष नेताबीच एकले अर्कालाई स्वीकार गर्न नसक्नु हो । यसैले गठबन्धन बनायो, जसको फाइदा सोच्दै नसोचेको विपक्षी (कांग्रेस) लाई भयो,’ विक भन्छिन् ।
राजनीतिक विश्लेषकका अनुसार पहिला अध्यादेशको खरो विरोध गरेका देउवाले अहिले आफैँ अध्यादेश ल्याएर दुई वटा पार्टी फुटाउँदा समेत उनको विरोध भएको छैन । बरु आफ्नै पार्टी कांग्रेस देउवाको क्रियाकलापबाट असन्तुष्ट छ । तर पार्टीबाहिर देउवाको विरोध गर्ने हिम्मत भइरहेको छैन । पाँचौं पटक देशको प्रधानमन्त्री बनेका देउवालाई यसअघिको भन्दा अहिले गठबन्धन दलको सर्मथनमा प्रधानमन्त्री बन्दा बढी हाइसन्चो छ ।