logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता

    स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता

    4.6K
    Shares

    धनुषा ।  सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन् । सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहागरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख कांग्रेसलाई दिने सहमति भएको थियो । त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाले निवर्तमान नगरप्रमुख लालकिशोर साहलाई नगरप्रमुख र कांग्रेसले किशोरी साहलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ ।

    गठबन्धनमा आवद्ध दलहरुबीच भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै पार्टी परित्यागको घोषणा गरी नेपाली कांग्रेसका नगरसभापति मनोज साहले नगरप्रमुखमा र निर्मल चौधरीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा साह र चौधरीले उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवारलाई असर पर्नसक्ने भन्दै दलका नेताहरुले स्वतन्त्र उम्मेदवारलाई मनाउने प्रयास भइरहेको कांग्रेस धनुषाका पुर्व सभापति महेशचन्द्र गिरीले जानकारी दिए ।

    ‘‘आफूहरुले स्वतन्त्र उम्मेदवार दुबै जनाको उम्मेदवारी फिर्ता गराउने पहल गरिरहेका छौँ”, गिरीले भने,‘‘अहिलेसम्म केही सकारात्मक परिणाम आउने सङ्केत त देखापरेको छैन् ।” तर हेरौँ आज साँझसम्म उम्मेदवारी फिर्ताको समय छ, त्यतिबेलासम्म केही हुन्छ कि भन्ने आशा गरौँ उनको भनाइ थियो ।

    यस्तै आफ्नै पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई मनाउन नेकपा (एमाले)का नेताहरु पनि जुटेका छन् । एमालेले जनकपुरधामको नगरप्रमुखमा शिवशङ्कर साह र उपप्रमुखमा रुना झालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका जानकी राम साहले नगरप्रमुखमा र उमेश चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी दुबै जनाको उम्मेदवारी फिर्ता गराउन प्रयास भइरहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

    जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि विभिन्न दल तथा स्वतन्त्र गरी ४१ जना र उपप्रमुखमा ३२ जनाले उम्मेदवारी दिएका छन् ।

    यसैबीच आसन्न स्थानीय तह निर्वाचनका लागि तीन वटा दलले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छन् । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किसान गिरी, तराई–मधेश लोकतान्त्रिक पार्टीबाट बिभा ठाकुर र जनमत पार्टीबाट अनितादेवीले उम्मेदवारी दत्र्ता गराएका छन् ।

    आसन्न निर्वाचनका लागि जनकपुरधामको नगरप्रमुख पदका लागि विभिन्न १२ दलबाट १२ जना र २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दत्र्ता गराएका छन् । तीमध्ये तीनै जना महिला फरक–फरक पार्टीबाट नगरप्रमुखमा उम्मेदवार दत्र्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend