logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चुनावका लागि पम्फा भुषालका तीन प्रतिवद्धता (पुर्णपाठसहित)

    चुनावका लागि पम्फा भुषालका तीन प्रतिवद्धता (पुर्णपाठसहित)

    2.9K
    Shares

    काठमाडौं । उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले तीन बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिवद्धता सार्वजनिक गरिन् । वाम लोकतान्त्रिक गठबन्धनकी ललितपुर–३ की साझा उम्मेदवार भुसालले गुणस्तरीय जीवनका लागि पर्यटनमा आधारित अर्थतन्त्र,पर्यावरण मन्त्री पूर्वाधार र समतामूलक समाज निर्माणमा लग्ने योजना अघि सारेकी छिन् । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण गर्न ललितपुरको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय उत्पादनका लागि स्थानीयसँग परामर्श गरी स्पष्ट नीति निर्माण गर्ने बताएकी छिन् ।

    यस्तै पर्यावरण मन्त्री पूर्वाधार निर्माण गर्न निर्माणाधीन बाग्मती,नख्खु, कर्मनासा लगायत करिडोर सम्पन्न गर्ने योजना अघि सारिएको छ । यस्तै ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण गर्ने, स्थानीय जनसहभागितामा सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गर्ने योजना भुसालले ल्याएकी छिन् । कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन बजारीकरणको व्यवस्था गर्ने पनि उनको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

    यस्तो छ भुसालको प्रतिवद्धता पत्रको पूर्ण पाठ

    ‘अबको भिजन, गुणस्तरीय जीवन’
    राजनीतिक परिवर्तनसँगै विश्वमा भएका प्रतिस्पर्धात्मक प्रगति अब हाम्रा सामु ठुलै चुनौती बन्न पुगेका छन् । हरेक नेपालीको आत्मसम्मान, स्वाभिमान र समृद्धिप्रति हामी शब्द र कर्ममै प्रतिवद्ध छौँ, रहने छौँ । हामी एक अर्कालाई सम्मान गर्छौँ र सहकार्यका लागि सधैँ तयार हुन्छौँ । हाम्रो यही प्रतिवद्धताका आधारमा सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ भने नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ ।

    हामी दिने र लिने संस्कारबाट माथि उठेर समानता सहितको स्वतन्त्र समाज निर्माणको बाटोमा अगाडि बढेका छौँ । यो उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनु पर्नेछ । नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्त्वपूर्ण आधार तयार भएका छन् । ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको छ भने स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ । त्यस्तै भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो । समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ ।

    तसर्थ एकातिर हामीले तयार गरेको राजनीतिक आधारको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी राख्नुपर्ने छ भने अर्कोतर्फ समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्नेछ । हाम्रा यिनै अभिभारा पूरा गर्नका निम्ति हामी यहाँहरू माझ प्रस्तुत भएका छौँ ।

    विगतमा ललितपुरवासीबाट पाएको माया र विश्वास आज मेरो राजनीतिक जीवनको महत्त्वपूर्ण सम्पत्तिका रूपमा अभिलिखित हुन पुगेको छ । आज फेरि म जनताबाट अनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा छु । जति धेरै मत त्यति धेरै आत्मविश्वास र राष्ट्रिय राजनीतिमा जिम्मेवारी प्राप्त हुन्छ । सदा झैँ अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगति उन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछु ।

    हामी ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्द्धन समृद्धिको महत्त्वपूर्ण आधार हो । यसलाई नै यहाँका हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नु पर्छ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवर्द्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।

    यसरी अबको पाँच वर्षमा ललितपुरवासीको गुणस्तरीय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान विन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरूपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिवद्ध छौं ।

    गुणस्तरीय जीवनका लागि तीन आधारभूत पिल्लरहरू

    (क) अर्थतन्त्र

    (ख) पर्यावरणरवातावरण

    (ग) समाज

    (क) पर्यटनमा आधारित अर्थतन्त्र
    गुणस्तरीय जीवनका लागि एक महत्त्वपूर्ण खम्बा भनेको अर्थतन्त्र हो । यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।

    –ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने ।
    –रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहना जस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने ।
    –हस्तकला मूर्ति, काष्ठ, चित्र केन्द्रहरूको स्तरोन्नति गरिने ।
    – पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गरिने ।
    – स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निर्माण, संरक्षण र उपयोग गरिने ।
    –पर्यटन उद्यमलाई प्रोत्साहन गरिने ।

    (ख) पर्यावरणमैत्री पूर्वाधार
    ललितपुरवासीले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्छ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार विकास गर्ने र ललितपुरवासीले गर्व गर्न लायक सहर निर्माण गर्न म विगतमा झैँ प्रतिवद्ध छु् ।

    –निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासा लगायत करिडोर सम्पन्न गरिने ।
    –विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने ।
    –गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने ।
    –अध्ययन सम्पन्न भएका स्थान ग्वार्को, सातदोबाटो र एकान्तकुना मा प्लाईओभर निर्माण गरिने ।
    –स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग÷स्थानीय स्रोतको सामुदायिकीकरण गरिने ।
    –स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्द्धन गरिने ।
    –जनसहभागितामूलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने ।
    –कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने ।

    (ग) समतामूलक समाज
    स्वतन्त्रता सहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिनेछ ।
    –हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन ।
    –महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका ।
    –महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम ।
    –स्थानीय युवाका लागि रोजगारमूलक तालिम ।
    –बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने ।
    –ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने ।
    –क्लब र समूहलाई सबल तुल्याई परिचालन ।
    –शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण ।
    –ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता ।
    –ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवर्द्धन ।

    जय देश, जय जनता १
    पम्फा भुसाल
    प्रतिनिधिसभा उम्मेदवार
    ललितपुर–३, २०७९


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend