logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • हस्तकला मेलाको दोस्रो दिनमा उल्लासमय जमघट, १० हजारले हेरे मेला

    हस्तकला मेलाको दोस्रो दिनमा उल्लासमय जमघट, १० हजारले हेरे मेला

    4.9K
    Shares
    हस्तकला मेलाको दोस्रो दिनमा उल्लासमय जमघट, १० हजारले हेरे मेला

    काठमाडौं । १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिताको दोस्रो दिन शनिबार करिब १० हजार व्यक्तिले मेला अवलोकन गरेका छन् । सार्वजनिक बिदाको दिनसमेत भएकाले परिवारसहित मेला घुम्न र किनमेल गर्न आउने अवलोकनकर्ताको राम्रो उपस्थिति रहेको मेला आयोजक समितिका संयोजक तथा हस्तकला महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए । मेलामा स्वदेशी तथा विदेशी अवलोकनकर्ताको राम्रो उपस्थिति देखिएको छ ।

    संयोजक तुलाधरका अनुसार मेला अवधिभर करिब १ लाख आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको छ । जसमध्ये २० हजार आगन्तुकको लागि निशुल्क प्रवेश पास वितरण गरिएको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डर समेत गरी झण्डै १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको तुलाधरले जानकारी दिए ।

    राजधानी काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा भइरहेको मेलाको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेकी थिइन् । मंगलबारसम्म सञ्चालन हुने मेलामा ५ वटा प्याभिलियन सहित कूल १३० स्टल रहेका छन् । मेलामा बागमती प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट महिला उद्यमीहरुको प्याभिलियन, वीन कोअपरेटिभ, ललितपुरका विभिन्न वडाहरुको समूह तथा नेपाल एक्जिबिटर्स एशोसिएसनको छुट्टाछुट्टै प्याभिलियन रहेको छ ।

    हस्तकला मेलाका विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानहरुको प्रदर्शनी साथै स्वास्थ्य, शिक्षा सेवा सम्बन्धी जानकारी मूलक स्टलहरु समेत रहेका छन् ।

    नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गरिएको छ । त्यसैगरि मेलामा महिला, अपांग, एसिड आक्रमणमा परेकाहरु र पिछडिएका वर्गलाई निशुल्क स्टल प्रदान गरिएको छ ।

    हाल नेपाली हस्तकलाका वस्तुहरु विश्वका ६० भन्दा बढी देशमा वार्षिक १२ अर्ब मूल्य बराबरको निकासी भई रहेका छन् । सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई कूल २४ अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिंदै आएको जनाइएको छ । हस्तकला उद्योग व्यवसायमा करिब ८ लाख व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend