logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा

    राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा

    2.4K
    Shares
    राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा

    बाँके । बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

    बाँकेको पूर्वी क्षेत्रमा रहेको राप्तीपारी सिधनियाघाटमा पुल बनेको पनि डेढ दशकभन्दा धेरै भइसक्यो । तर पनि त्यहाँका तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा नै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । उक्त नदीमा सञ्चालित प्रायः डुङ्गा भारतबाट खरिद गरेर स्थानीयले चलाउने गर्दछन् ।

    भारतबाट भाडामा ल्याइएको डुङ्गा हाल जितबहादुर पासीले ठेक्कामा चलाइरहेका छन्। उनले नदी तारेको प्रतिव्यक्ति दश रुपैँया लिने गर्छन् । दिनमा आठ सयदेखि रु एक हजारसम्म आम्दानी हुने गरेको उनले बताए । पासीले भने, ‘डुङ्गा चलाएबापत गाउँपालिकालाई वर्षीक ५० हजार दिने सम्झौता छ ।’

    डुङ्गामा मानिस र भैँसीलाई बोकेबापत २० रुपैँया, साइकलको १५ रुपैँया र मोटरसाइकलको ३० रुपैँया लिने गरेको पासीले बताए ।

    बीस वर्षदेखि राप्तीनदीमा डुङ्गाा चलाउँदै आएका नानबाबु पासीले भारतबाट भाडामा डुङ्गाा ल्याएर चलाइरहेको बताए। गत फागुन १७ गते सम्झौता सकिएपछि पालिकाले अरुलाई ठेक्का दिएको छ । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्छ । हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुर बासिन्दा डुङ्गा तरेर जाने गर्दछन् । यो होलियाको पिप्रहवादेखि चार किलोमिटरको दूरीमा रहेको छ । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध नजिक पर्छ ।

    हाट बजारमा तरकारी सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न जाने गरेका डुङ्गा चालक श्रवण विश्वकर्माले बताए । निःशुल्क रुपमा डुङ्गा चढ्न पाउनुपर्ने डुडुवा गाउँपालिका–१, पिप्रहवाका कृष्णगोपाल यादवले बताए । ‘स्थानीय सरकार जनताको सहजताका लागि निःशुल्क चढ्ने व्यवस्था गर्नुपर्छ’, उनले भने ।

    राप्तीको बाढीले काट्दै गएपछि उक्त क्षेत्रका गाउँ कटानको समस्यामा छन् । एउटै डुङ्गामा ५० जनादेखि ६० जना सवार हुन्छन् । डुडुवामा वडा नं १ मा कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्ती रहेको छ । राप्तीको नदीमा चारवटा घाट छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend