शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

जलविद्युतमा आक्रामक चिलिमे हाइड्रोपावर, ३०४ मेगावाटका चार आयोजना बनाउँदै

जलविद्युतमा आक्रामक चिलिमे हाइड्रोपावर, ३०४ मेगावाटका चार आयोजना बनाउँदै

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सहायक कम्पनीहरुमार्फत चार जलविद्युत आयोजना अघि बढाएको छ । चिलिमेले ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९१ मेगावाटको बुढी गण्डकी र ४५ मेगावाटको स्यारखालो आयोजना अघि बढाएको हो । आयोजनाको जडित क्षमता ३ सय ४ मेगावाट छ ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको काम चिलिमे इन्जिनियरिङ सर्भिसेस लिमिटेडबाट भइरहेको छ । चारवटै आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने भएको छ ।

बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बनाउन १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । बुढीगण्डकी प्रोकबाट २०८५ भदौ २८ मा विद्युत उत्पादन प्रस्ताव गरिएको छ ।

नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ४४ करोड ७० लाख ३० हजार युनिट बिजुली उत्पादन हुने डिपिआरले देखाएको छ ।

आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा रहने प्रस्ताव गरिएको छ । नदीमा बाँध बाँधेर बिजुली उत्पादन गर्न पानी भूमिगत विद्युतगृहमा लगिने छ ।आयोजनाको तीनवटा एक्सिस फ्रान्सिस टर्बाइनमा पानी खसाली विद्युत उत्पादन गरिने छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली १५ किलोमिटर दुरीमा रहेको २ सय २० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको लिपाङ बिहारथोक सबस्टेसनमा जोडिने छ । बुढीगण्डकी प्रोक र सेती आयोजना बनाउन कूल ३६ अर्ब १२ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।

बुढीगण्डकी प्रोक विद्युतगृहदेखि नजिकको सबस्टेसनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने छ । आयोजना गोरखाको चुमनब्री गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्छ । अर्धजलाशय सेती नदी–३ को १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लागत रहने अनुमान छ । पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङमा पर्छ ।

पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ्गममा पर्छ ।

सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको सहुलियत ऋण (लाइन अफ क्रेडिट) सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १५० किलोमिटर लामो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत कार्यान्वयन हुँदैछ ।

परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ । त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ ।

बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बन्ने छ । आयोजनाको सुरुङ ४.२ किलोमिटर लामो हुनेछ । आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सुतियामा हुने भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणले प्रस्ताव गरेको चैनपुर सबस्टेसनमा जोडिने भएको छ ।

आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने आयोजनाले जनाएको छ । चिलिमेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको माथिलो तथा तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनाको निर्माण जारी छ । यी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प, नाकावन्दी, बाढी र पछिल्लो समयमा कोरोना महामारीले आयोजनाको काम अवरुद्ध हुँदै आएको छ । १४.९ मेगावाटको माथिल्लो सान्जेनबाट बिजुली उत्पादन भइरहेको छ ।

चिलिमेले २२ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । ४ वटा आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि चिलिमे आर्थिक रुपमा सबल हुन गई लगानीकर्तालाई बढी प्रतिफल दिन सक्षम हुने छ । सञ्चालनमा रहेको, निर्माणधिन र निर्माणको तयारीमा रहेका आयोजनाको जडित क्षमता ५ सय ९६ मेगावाट रहेको छ ।

६ महिनामा ३९ करोड खुदनाफा

चिलिमेले चालू आर्थिक वर्षको ६ महिनामा ३९ करोड ९१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको नाफा ४० करोड १२ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष चिलिमेको नाफा घटेको छ । ६ महिनामा बिजुली बिक्रीबाट चिलिमेले ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । चिलिमेको चुक्ता पुँजी बढेर ७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend