logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कान्तिपुर र शिव शिखरसहित छ सहकारीका ऋणीलाई कर्जा तिर्न ३५ दिन ‘अल्टिमेटम’

    कान्तिपुर र शिव शिखरसहित छ सहकारीका ऋणीलाई कर्जा तिर्न ३५ दिन ‘अल्टिमेटम’

    41.1K
    Shares
    कान्तिपुर र शिव शिखरसहित छ सहकारीका ऋणीलाई कर्जा तिर्न ३५ दिन ‘अल्टिमेटम’

    काठमाडौँ । सरकारले समस्याग्रस्त घोषित सहकारी संस्था कान्तिपुर सेभिङ्ग क्रेडिट कोअपरेटिभ लिमिटेड र शिव शिखर बहुउद्देश्यीय सहकारी लिमिटेडसहित आधादर्जन सहकारीका ॠणीहरुलाई ॠण तिर्न बोलाएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्र्तगत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार एक सूचना जारी गर्दै छ वटा सहकारीका ॠणीहरुलाई ॠण तिर्न बोलाएको हो ।

    समितिले ललितपुरको मानभवनमा रहेको सहकारी पशुपति सेभिसेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड, भक्तपुरको कौशलटारमा रहेको सहकारी शिव शिखर बहुउद्देश्यीय, विराटनगरमा रहेको सहकारी तुलसी बहुमुखी, महाराजगंजमा रहेको हाम्रो नयाँ कृषि सहकारी, ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी र काठमाडौैँको मिनभवनमा रहेको सहकारी कान्तिपुर सेभिङ्ग क्रेडिटका ॠणीहरुलाई ॠण तिर्न बोलाएको हो ।

    ॠणीहरुलाई ३५ दिन भित्र समितिको कार्यालयमा उपस्थित भई राफसाफ गर्न भनेको छ । उक्त समयभित्र राफसाफ नगरे सहकारी ऐन अनुसार कारबाही गरिने उल्लेख छ ।

    ॠणीले ॠण राफसाफ नगरे ॠणीको कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राख्ने भनेको छ ।

    सहकारी ऐन, २०७४ को दफा (१) को उपदफा (१० को खण्ड (क), (ख) र (ग बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालोसूचीमा राख्ने लगायतका कारबाही गरिने उल्लेख छ ।

    ६ वटा सहकारीका सञ्चालकहरुले अर्बौं रुपैयाँ निक्षेपको दुरुपयोग गरेपछि सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।

    समस्याग्रस्त भएको कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडबम सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको पाइएको छ ।

    काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएको मध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ ।

    सहकारीको सेयर पूँजी करिब ४० करोड रुपैयाँ छ । सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ ।

    ऋणको ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको छ।

    सिबी लामाले कान्तिपुर सहकारी चलाइरहेकै बेला केहीपछि २०५५ सालमा पशुपति बचत तथा ऋण सहकारी खोलेका थिए । कान्तिपुरमा आफू अध्यक्ष थिए, पशुपतिमा श्रीमतीलाई अध्यक्ष बनाएका थिए । २०७४ सालमा एकै परिवारको व्यक्ति दुई सहकारीको सञ्चालक बन्न नपाउने नियम आयो । त्यसपछि लामाले कान्तिपुरको अध्यक्ष छोडे र पशुपतिको अध्यक्ष भए ।

    कुल निक्षेप करिब १ अर्ब ७२ करोड रुपैयाँ पुगेको पशुपति सहकारीलाई लामाले निजी कम्पनी जस्तो जथाभावी सञ्चालन गरेका थिए । उनले बचतकर्ताको निक्षेप रकम दुरुपयोग गरी आफू सहितका विभिन्न व्यक्ति तथा कम्पनीका नाममा जग्गा किनेको पाइएको छ ।

    त्यति मात्रै होइन, उनले व्यक्तिगत लगानीमा विभिन्न कम्पनी खोली त्यस मार्फत पनि सहकारीको बचत रकम दुरुपयोग गरेको खुलेको छ ।

    ललितपुरको भैंसेपाटी र लामाटार, काभ्रेको धुलिखेल र भकुण्डेबेंसी, चितवनको मेघौली तथा रूपन्देहीको बसौली नगरपालिकामा जग्गा रहेको पशुपति सहकारीले बताएको छ । तर यो कुनै पनि जग्गा सहकारीको नाममा छैन ।

    ललितपुर र काभ्रेमा रहेको जग्गा संस्थाका अध्यक्ष सिबी लामा, बहादुर लामा तथा पुष्पराज कोइरालाको नाममा देखिएको छ ।

    यस्तै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कौशलटार, भक्तपुरमा मुख्य कार्यालय रही देशभर ३५ जिल्लामा रहेका शाखा कार्यालय मार्फत १ लाख ६८ हजार ७२५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।

    यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ निक्षेपकर्ता सदस्यको १ अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिका नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ।

    उक्त रकमको सावाँ र ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गाजमीन, सवारीसाधन खरीद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि(नोक्सानी पुर्‍याएको पाइएको छ।

     

     

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend