logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बुढानीलकण्ठ नगर सिल्ड खेलकुदमा ८ खेल, धाविका सन्तोषी ब्राण्ड एम्बासडर

    बुढानीलकण्ठ नगर सिल्ड खेलकुदमा ८ खेल, धाविका सन्तोषी ब्राण्ड एम्बासडर

    507
    Shares
    बुढानीलकण्ठ नगर सिल्ड खेलकुदमा ८ खेल, धाविका सन्तोषी ब्राण्ड एम्बासडर

    १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्णविजेता धाविका सन्तोषी श्रेष्ठ प्रथम बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छन् ।

    स्थानीय क्षेत्रबाट खेलकुद प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यअनुरूप आगामी वैशाख १५ गतेदेखि काठमाडौंको बुढानीलकण्ठमा पहिलो खेलकुद महोत्सव शुरु हुँदैछ ।

    सोही महोत्सवमा खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषीलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।

    सन्तोषी पनि बुढानीलकण्ठ नगरपालिका वडा–६ कै बासिन्दा हुन् । आयोजक बोर्डका संयोजक सुमन तामाङले स्थानीय बासिन्दासमेत रहेकी सन्तोषीलाई खेलकुद महोत्सवको ब्राण्ड एम्बासडरमा चयन गरिएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    सन्तोषी बंगबन्धु ढाका म्याराथनकी स्वर्णविजेतासमेत हुन् । नेपालमै सम्पन्न १३ औं सागमा उनले १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्राण्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभुति भएको उल्लेख गर्दै संयोजक तामाङले महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

    आगामी वैशाख १९ गतेसम्म चल्ने महोत्सवमा विभिन्न ८ खेल विधा प्रतिष्पर्धा हुनेछन् । महोत्वसमा कराते, तेक्वान्दो, मुवाँथाई, कुङ्फु, बास्केटबल, फुटबल, ब्याडमिण्टन र रोड रेसमा प्रतिष्पर्धा हुनेछ ।

    त्यसमा रेस्लिङ र केही परम्परागत खेलको भने प्रदर्शनी हुने भएको छ । संयोजक तामाङले बुढानीलकण्ठलाई खेलकुदको हब बनाउन क्यालेण्डर तयार गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    महोत्सवमा सहभागी खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै आयोजकले सात दिनका लागि पाँच लाख रुपैयाँ बराबरको बीमासमेत गरेको छ । स्थानीय र बसाईंसराई गरेर आएका खेलाडीले मात्र प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने आयोजकले स्पष्ट पारेको छ । महोत्सवमा ब्राण्ड एम्बासडर नियुक्तप्रति खुशी हुँदै सन्तोषीले आयोजकप्रति आभार व्यक्त गरिन् ।

    साथै उनले खेलकुद महोत्सव खेलाडीका लागि आफ्नौ कौशल देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरिन् । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले खेलकुद महोत्सवको टिसर्ट सार्वजनिक गरेका थिए ।

    सोही अवसरमा खेलकुद महोत्सवको लोगो र प्रोमो पनि सार्वजनिक गरिएको थियो । मेयर अधिकारीले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरपालिकाले प्रशासन र शिक्षापछि खेलकुदमा बजेट विनियोजन गरेको गरिएको उल्लेख गरे । उनले खेलकुदको माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend