logo

२०८१ माघ १५ मंगलबार

logo
  • मंगलबार, १५ माघ २०८१
  • निरन्तर निर्वाचन क्षेत्रमा विनोद चौधरी : विकास निर्माणका कामको समन्वयदेखि अनुगमनसम्म

    निरन्तर निर्वाचन क्षेत्रमा विनोद चौधरी : विकास निर्माणका कामको समन्वयदेखि अनुगमनसम्म

    735
    Shares
    निरन्तर निर्वाचन क्षेत्रमा विनोद चौधरी : विकास निर्माणका कामको समन्वयदेखि अनुगमनसम्म

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनधिसभा सदस्य विनोद चौधरी निर्वाचन क्षेत्रको विकासमा निरन्तर क्रियाशील छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सांसद चौधरीले निर्वाचन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् ।

    निर्वाचित भएलगत्तै विज्ञसहितको टोली राखेर निर्वाचन क्षेत्रका विकास निर्माणका कामको प्राथमिकरण गरेका उनले त्यसको कार्यान्वयनका लागि निरन्तर पहल र समन्वय गर्दै आएका छन् ।

    नेपालका प्रतिष्ठित उद्योगपति चौधरीले निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर तीन तहकै सरकार र सरोकारवाला अन्य निकायसँग सहकार्य गर्दै आएका हुन् । बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले सांसद चौधरी निर्वाचित भएपछि नवलपरासीमा व्यवस्थित विकासको प्रारम्भ भएको बताए ।

    उनले भने, ‘जनप्रतिनिधिका रुपमा माननीयज्यू (विनोद चौधरी) को काम गर्ने तरिका अरुभन्दा फरक छ । उहाँ निर्वाचन क्षेत्रको विकास निर्माणको काममा तीन तहकै सरकारसँग समन्वय गर्ने र सहजीकरण गर्ने काममा सहयोग गर्दै आउनुभएको छ ।’ मेयर श्रेष्ठका अनुसार सांसद चौधरीले सुरु भएका आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई सकारात्मक दवाव दिने काम गर्छन् ।

    विकासका लागि राजनीति भन्ने नाराका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीकै पहलमा दुई वर्षमै अपेक्षित विकासका कामहरु भइरहेको स्थानीय बताउँछन् । विगतमा सुरु भएर अलपत्र परेका योजनाहरुलाई फेरि सुचारु गर्नेदेखि नयाँ आयोजनाहरु निर्वाचन क्षेत्रमा लैजाने काममा उनको भूमिका महत्वपूर्ण रहेको सरावल गाउँपालिका वडा न ५ का वडाध्यक्ष लक्ष्मण चौधरीले बताए ।

    उनले भने, ‘उहाँ निर्वाचित भएपछि पहिलादेखि रोकिएका कामहरु अगाडि बढेका छन् । केहि नयाँ योजनाहरु पनि यहाँ आएका छन् । चाहे ट्रमा सेन्टरको काम होस् वा सुस्ता पुल । अन्य शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा निकै नै काम भएका छन् । जुन उहाँबाहेक अरुबाट सम्भव थिएन ।’

    लामो समयदेखि अलपत्र अवस्थामा रहेको ट्रमा सेन्टर निर्माणको काम अगाडि बढेको छ भने दश वर्षअघि नै निर्माण सुरु भएर पनि सुस्त गतिमा अगाडि बढिरहेको सुस्ता पुलको काम सम्पन्न भइसकेको छ । अघिल्लो महिना राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लामो झोलुंगे पुल (सुस्ता पुल)को उद्घाटन गरेका थिए । सांसद चौधरीकै पहलमा सुस्तापारीका करिव तीन सय भन्दा बढि घर परिवारलाई सरकारले निशुल्क विद्युत उपलब्ध गराएको छ । एक वर्षका लागि त्यहाँका स्थानीय विजुली उपभोग गरेको पैसा तिर्नुपर्दैन ।

    चौधरी फाउण्डेसनमार्फत् युवाहरुलाई स्वरोजगारमूलक तालिम प्रदान गर्नुका साथै महिलाहरुलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरिएको छ । सांसद चौधरीले निर्वाचन क्षेत्रको विकास नै आफ्नो प्राथमिक काम भएको बताउँदै आएका छन् । उनले भने, ‘म यो निर्वाचन क्षेत्रको विकासलाई व्यवस्थित रुपमा अगाडि बढाउन चाहन्छु । विकासमा राजनीति गर्नुहुँदैन भन्ने मान्यताका साथ समग्र निर्वाचन क्षेत्रको विकासमा मेरो अर्जुनदृष्टि छ ।’

    सांसद निर्वाचित भएपछि निरन्तर निर्वाचन क्षेत्र पुग्ने गरेका उनले जिल्लामा रहेका सबै सरकारी निकाय, स्थानीय तह र सरोकारवाला निकायहरुसँग सामूहिक छलफल गर्दै आएका छन् । उनले विकास निर्माणका काममा भइरहेको प्रगति र समस्याबारेमा समिक्षा गर्ने गरेका हुन् । निर्वाचन क्षेत्रका विभिन्न छठी घाटमा पुगेर छठ पर्व मनाएका सांसद चौधरीले विभिन्न विकास निर्माणका कामको स्थलगत अनुमगनसमेत गरेका थिए । उनले ट्रमा सेन्टर, खजुरा खोला पुल, साना तथा मझौला उद्योगग्राम, अम्बास सडकखण्ड लगायतको अनुमगन गर्दै विकास निर्माणका काममा बिलम्ब नगर्न सम्बन्धित निकायालई आग्रह गरे ।

    सांसद चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुका साथै उखु किसानको भुक्तानी छिटो गर्न र न्यूनतम मूल्य तोक्न संघीय कृषिमन्त्री रामनाथ अधिकारी र अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै ध्यानाकर्षण गराएका छन् । नवलपरासी उखु र केरा खेतिका लागि नेपालकै प्रमुख पकेट क्षेत्रका रुपमा लिइन्छ । उखु र केराखेतिका लागि अन्य कृषिबालीभन्दा बढि मल आवश्यक हुने भएकाले सांसद चौधरीले मलको सहज आपूर्तीका लागि पटकपटक संघीय सरकारलाई आग्रह गर्दै आएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend