राजेन्द्र आचार्य, चितवन । देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि होटल व्यवसायमा लगानी बढ्न थालेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि सँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पाँच तारे होटल रोयल टुपील निर्माण सम्पन्न भएको छ । यो होटल अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा ल्याउने तयारी लगानीकर्ताको छ ।
करिब ३ वर्ष लगाएर रत्ननगर नगरपालिका वडा–५ जनकौली सामुदायिव वन कार्यालय अगाडी केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भएको होटल लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा आउन लागेको हो । होटल १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानीमा निर्माण सम्पन्न भएको हो ।

विश्व बजारमा सफल बहुर्राष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवर्द्धन गर्न सहयोग गर्ने केटीएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले बताए । ‘चितवनको पर्यटनको देशमै अलग भूमिका छ अध्यक्ष शाहले भने, यहाँ निकुञ्जका होटल बन्द भएपछि पर्यटक लक्षित स्टार होटल सञ्चालनमा आएको थिए, यसकारण पर्यटकहरुको माग र चितवनको विकासमा टेवा पुर्याउने उद्देश्यले पाँच तारे होटल निर्माण सम्पन्न गरि सुरु गर्न लागेको हो ।’
होटलको लगानीकर्ता शाह गैरआवासीय नेपालीहरुका अगुवा पनि हुन् । चितवनमा एउटै पनि पाँच तारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल चल्ने र खुल्ने गरेकोले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको शाहले बताए । उनले भने, ‘हामीले निर्माण गरिरहेको पाँचतारे स्तरको रिसोर्ट हो । चितवनमा लोकल ब्रान्डका होटलहरु मात्र रहेकोमा रोयल टुलिप पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो ।’
रिसोर्ट निर्माणमा सुरुमा ७० करोड लागत अनुमान गरिएकोमा बढेर अहिले एक अर्ब ५० करोड रुपैयाँ बढी पुगेको बताउँदै शाहले भने, ‘हामीले पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाहरुको व्यवस्था गरेका छौं । विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको छ ।’

हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटलमा जिल्लाकै ठूला सभा हल, पाँच सय क्षमताको बैंक्यूट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, आगन्तुक पाहुनाहरुले डुंगा सयर, जलमहलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थियटर, लङ टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार र रेष्टुरेण्ट जस्ता सेवाहरु पाउने छन् ।
प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेष्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लब, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ । होटलभित्रका सबै संरचनाहरुमा प्रकृतीमैत्री छ । होटलमा तीन सय जना बढीलाई रोजगारी दिने ग्रुपको तयारी छ ।
अध्यक्ष शाहले पर्यटन क्षेत्र नेपालीको अर्थतन्त्रको बलियो खम्बा भएकोले गुणस्तरीय सेवामार्फत पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालन हुन लागेको बताए ।

ग्रुपकै दोश्रो ठुलो तथा विश्व बजारमा ११ वटा विभिन्न ब्राण्ड सहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड ‘रोयल टुलिप’ को कोभिडको समयमा शिलान्यास भई निर्माण सुरु भएको थियो ।
करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुईट्लगायत ५ प्रकारका विविध सुविधा सहितका कोठाहरु रहेको, रिसोर्ट नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरुको प्रयोग गरी निर्माण भएको उनले बताए ।
रिसोर्टमा १३ वटा एक तल्ले, पाँच वटा दुई तल्ले, तीन वटा तीन तल्ले र एउटा चार तल्ले गरी २२ वटा भिल्ला छन् । यी भिल्लामा स्विट लगायत विविध सुविधा सहितका ६४ कोठा छन् । रोयल टुलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि भर्ना खोलिएको सञ्चालक शाहले बताए।

सञ्चालक शाहका अनुसार रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भए पनि आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरू सकेसम्म स्थानीय र नभए नेपाली नै राखेर सञ्चालन गर्ने योजना छ । जसले व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयहरूलाई रोजगारी सिर्जना हुने उनले बताए ।
सन् २०२० को जनवरीमा स्थापित केटीएम हस्पिटालिटी प्रालिद्वारा निर्माण भएको केटिएम ग्रुपको पहिलो रिसोर्ट हो ।
प्रतिक्रिया दिनुहोस