logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

    उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

    2.4K
    Shares
    उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ ।

    कांग्रेस वडाध्यक्षबाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचनाकुमारी भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी निर्वाचित भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाइन् ।

    तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी) की जवा शाहीले पाँच सय ५३ मत पाइन् । दुई वर्षअघि भएको निर्वाचनमा यो गापाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् । उनको निधनपछि उपनिर्वाचन भएको हो । विसं २०७४ मा भने सो गापामा एमाले नै विजयी भएको थियो ।

    दुई वर्षअघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस उपनिर्वाचनमा बझाङ जिल्ला, सुर्मा गापा–४ र दार्चुला जिल्ला, दुहु गापा–५ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ । सुर्मा–४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धामा एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मत पाए । यसअघिको निर्वाचनमा एमालेका प्रत्यासी यो वडाको वडाध्यक्षमा विजयी भएका थिए ।

    यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) विजयी भएको दार्चुला दुहु–५ को वडाध्यक्षमा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धि एमालेका मानसिंह बडालले तीन सय ५८ मत पाए ।

    कांग्रेसले डोटीको पूर्वीचौकी गापा–६ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका–६ को वडाध्यक्षमा पुनः विजय प्राप्तगरी बिरासत जोगाएको छ । पूर्वीचौकीमा कांग्रेसका मोहन थापा चार सय ६८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापा तीनसय एक मत पाए ।

    भीमदत्त नगरनगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मत प्राप्त गरी विजयी हुँदा एमालेका बहादुर चन्द चार सय ८७ मतमा सीमित भए ।

    उपनिर्वाचनअन्तर्गत नै कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरीभूल निर्विरोध निर्वाचित भइसकेकी छन् । उपनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नतिजा शून्य भएको छ ।

    आइतबार भएको उपनिर्वाचनमा मतदान गर्न योग्य कूल मतदातामध्ये स्वामीकार्तिक खापर गाउँपालिकामा ५२, सुर्मा गापामा ७६, पूर्वीचौकी गापामा ५३, दुहुँ गापामा ६९ र भीमदत्तनगर नगरपालिकामा ५५ प्रतिशत मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend