काठमाडौं । प्रस्तावित टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढ्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका समकक्षी लि छ्याङबीच मंगलबार राजधानी बेइजिङमा भएको द्धिपक्षिय वार्तापछि नौ वटा विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नौवटा मध्ये पहिलो नम्बरमा टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धि पत्र आदनप्रदान भएको छ । पत्र आदनप्रदानले सुरुङमार्ग निर्माणको सम्भावना बढेर गएको छ ।
२०७६ असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा चीनले अनुदानमा सुरुङ मार्ग निर्माण सम्झौता भएको थियो । सो समयमा सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार चीनले प्रारम्भिक चरणको अध्ययन २०७७ मा सम्पन्न गरेको थियो ।
त्यसपछि लगतै कोरोना महामारी सुरु भएपछि सुरुङमार्गको योजना ओझेलमा पर्दै आएको थियो । नेपाली पक्षले पटक पटक सुरुङ मार्ग निर्माणका विषयमा ध्यानकर्षण गराउँदा चिनियाँ पक्षले चासो दिएको थिएन् । सहमति भएको ६ वर्ष बितिसक्दा पनि सुरुङ मार्गको डीपीआरसमेत बनेको छैन ।
२०८० साउनको पहिलो साता भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० बैठकका अवसरमा तत्कालिन अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीचको भेटमा टोखा छहरे सुरुङमार्ग बनाउने विषयमा छलफल भएको थियो ।
सो वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका टोखा छहरे विषयमा कुराकानी भएको मन्त्री डा महतले जानकारी दिएका थिए । २०७७ मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले उक्त सुरुङमार्गको पूर्व–संभाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलीटी) तयार पारेको थियो । त्यसयता चिनियाँ पक्ष नेपाल आएको छैन ।
अध्ययन चाइना कम्युनिकेसनका प्रमुखसहित भूगर्भ, सुरुङ र राजमार्ग इन्जिनियरलगायत ९ जना प्राविधिक टोलीले गरेको थियो । चिनियाँ टोलीलाई प्रारम्भिक अध्ययन गर्न करिब एक महिना लागेको थियो। प्रारम्भिक अध्ययनअनुसार सुरुङको लम्बाइ ४ किलोमिटर हुनेछ।
त्यस्तै चौडाइ २ तथा एकातिर ‘सर्भिस ट्रयाक’ हुने छ । सुरुङ मार्ग बनाउन ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यद्यपि आयोजनाको वास्तविक लागत भने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पछि मात्रै एकिन हुने छ ।
रसुवागढी सडकको दूरी छोट्याउन सो खण्डमा सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङ निर्माण भएपछि करिब १२ किलोमिटर दूरी घट्ने सडक विभागले जनाएको छ । अहिले रसुवागढी–स्याफ्रुबेंसी–धुन्चे पुग्ने गरेकोमा सुरुङमार्फत धुन्चे नपुगी रसुवागढीबाट स्याफ्रुबेंसी–मैलुङ दोभान हुँदै विदुर आउन सकिन्छ ।
त्यस्तै चीनले राजधानी काठमाडौंदेखि सीमा नाका रसुवागढीसम्म सडक बनाइदिने प्रतिबद्धता जनाएको थियो । चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरेसहित नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुबेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरी दिन चीन सहमत भएको थियो ।
पहिलो चरणमा काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किलोमिटर सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने प्रतिवद्धता जनाएको थियो ।
काठमाडौंबाट गल्छी–स्याफ्रुबेंसी–रसुवागडीको दूरी १ सय २८ किलोमिटर छ । काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुबेंसी हुँदै रसुवागडीको दूरी १ सय ५२ किलोमिटर छ । टोखा–छहरे गँगटे ४४ किलोमिटर छ । गँगटे–बेत्रावती १७, बेत्रावती–मैलुङ १०, मैलुङ–स्याफ्रुबेंसी १९, स्याफ्रुबेंसी–रसुवागढी १६ किलोमिटर रहेको छ । अहिले सो खण्डसहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निर्माधीन अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस