२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

बुधवार , मंसिर १९, २०८१

झापा । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएन) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।

झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई आठ देखि १२ अर्ब रुपैयाँसम्म पर्छ ।

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताए । “संसदीय समितिले डिएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ”, उनले भने, “दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डिएनएन, केही अत्तोपत्तो छैन ।”

विसं २०७९ साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डिएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उनले बताए । डिएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन ।

देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डिएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । डिएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन ।

मेचीनगर नगरपालिका–का जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिनु भएको छ । धान खेत मासेर उनले डेढ बिघामा सुपारीखेती गरेका छन् । “बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्”, किसान पाण्डेले समस्या सुनाउँदै भने, “दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे ।”

मेचीनगर–४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गरे । बाहुनडाँगीमा जङ्गली हात्तीले धान, मकैलगायत बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उनले दुःख व्यक्त गरे ।

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित छन् । सङ्घका अध्यक्ष तिवारी सुपारीको डिएनए परीक्षणमा अल्झिन नहुने बताउँछन् । सरकारले दानाको डिएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डिएनए सम्भव नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट